नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी क्षेत्रका केही मुलुक तथा टर्कीमा कार्यरत नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूले अब पुनः श्रम स्वीकृति पाउने भएका छन्।
मन्त्रालयका अनुसार ती देशहरूमा कार्यरत श्रमिकहरू बिदामा नेपाल आएका र पुनः आफ्नो रोजगारीमा फर्किन चाहने श्रमिकहरूलाई पुनः श्रम स्वीकृति प्रदान गरिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। साथै, विभिन्न कारणले श्रम स्वीकृति अवधि समाप्त भइसकेका र समयमै नविकरण गर्न नसकेका श्रमिकहरूका लागि पनि पुनः श्रम स्वीकृति खुला गरिएको छ, जसले गर्दा उनीहरूलाई रोजगारीमा फर्किन सहज हुने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।

बदलिँदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले केही मुलुकमा भने श्रम स्वीकृतिमा लगाएको रोकलाई निरन्तरता दिएको छ। मन्त्रालयका अनुसार इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबननका लागि व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति हाललाई प्रदान नगरिने जनाइएको छ।
उक्त निर्णय २०८२ फागुन ३ गतेदेखि कार्यान्वयनमा आएको छ। मन्त्रालयले यस अवधिमा अनावश्यक रूपमा मध्यपूर्वतर्फ यात्रा नगर्न तथा अत्यावश्यक बाहेकका यात्रा स्थगित गर्न पनि आग्रह गरेको छ। साथै, श्रमिकहरूको सुरक्षा र हितलाई प्राथमिकतामा राखेर आगामी दिनमा परिस्थितिअनुसार थप निर्णयहरू लिइने संकेत गरिएको छ।
यस निर्णयले एकातर्फ नयाँ श्रमिकको गमनमा रोक लगाए पनि अर्कोतर्फ पहिले नै रोजगारीमा संलग्न श्रमिकहरूलाई निरन्तरता दिने प्रयास गरिएको देखिन्छ। वर्तमान भूराजनीतिक अवस्थाबिच श्रमिक सुरक्षालाई केन्द्रमा राख्दै सरकार अघि बढेको मन्त्रालयको दाबी छ।