US Israel Iran War

अरब र इस्लामिक विदेश मन्त्रीहरूले इरानलाई आक्रमण रोक्न आह्वान

आप्रवासन आप्रवासन

साउदी अरबको राजधानी रियादमा बिहीबार एक परामर्श मन्त्रीस्तरीय बैठकमा १२ वटा अरब र इस्लामिक राष्ट्रका विदेश मन्त्रीहरूले इरानलाई क्षेत्रीय राज्यहरूमाथिको आक्रमण तुरुन्तै रोक्न आह्वान गरेको छ। साथै जारी गरिएको संयुक्त विज्ञप्तिमा इरानले खाडी मुलुकहरूमाथि गरेको शृङ्खलाबद्ध हमलाको तीव्र भत्सर्ना गरिएको छ। 

इरानले आवासीय क्षेत्र, नागरिक पूर्वाधार, तेल खानी, विमानस्थल र कुटनैतिक नियोगहरूलाई समेत निशाना बनाएको भन्दै ती देशहरूले आक्रोश व्यक्त गरेका छन्। रियाद बैठकमा सहभागी राष्ट्रहरूले इरानका कारण क्षेत्रीय सुरक्षा र स्थिरता खल्बलिएको निष्कर्ष निकालेका छन्।

इरानले खाडीका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि स्थिति थप तनावपूर्ण बनेको हो। कतारका ग्यास केन्द्रहरूमा आगलागी भएको छ भने साउदी अरबले आफ्नो आकाशमा इरानी मिसाइलहरू खसालेको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमले भने अमेरिका र इजरायलले आफ्ना तेल र ग्यास उत्पादन केन्द्रमा आक्रमण गरेको भन्दै त्यसको बदला लिएको दाबी गर्दै आएका छन्।

यस बैठकले इरानको मात्र होइन, लेबनानमाथि भइरहेको इजरायली आक्रमणको पनि कडा शब्दमा निन्दा गरेको छ। विदेश मन्त्रीहरूले लेबनानको सुरक्षा, स्थिरता र भौगोलिक अखण्डताको पक्षमा आफूहरू उभिएको स्पष्ट पारेका छन्। पश्चिम एसियामा एकातिर इरान र इजरायलको द्वन्द्वले गर्दा पूरै क्षेत्र युद्धको चपेटामा परेपछि मुस्लिम राष्ट्रहरूले सामूहिक दबाब सिर्जना गर्ने प्रयास गरेका हुन्।


यो संयुक्त विज्ञप्तिमा अजरबैजान, बहराइन, इजिप्ट, जोर्डन, कुवेत, लेबनान, पाकिस्तान, कतार, साउदी अरब, सिरिया, टर्की र संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश मन्त्रीहरूले हस्ताक्षर गरेका छन्।