भर्जिनिया । अमेरिकाको फेयरफ्याक्स काउन्टी प्रहरीले गत फेब्रुअरी २३ मा भर्जिनियाको मान्टुआस्थित ‘मार्गेट म्यानर अपार्टमेन्ट’ मा भएको एउटा बीभत्स हत्याकाण्डको 'बडी क्यामरा' भिडियो सार्वजनिक गरेको छ। उक्त घटनामा भर्खरै नेपालबाट अमेरिका आएका छत्र थापाले आफ्नै श्रीमती बिन्दा थापा र छोरी ममता थापाको छुरा प्रहार गरी हत्या गरेका थिए।
आफ्नो परिवारका सदस्यहरूको ज्यान लिइरहेका छत्रलाई रोक्न खोज्दा प्रहरीले चलाएको गोलीबाट उनको पनि घटनास्थलमै मृत्यु भएको थियो। प्रहरी प्रमुख केभिन डेभिसले उक्त घटनास्थललाई ‘रक्तपातपूर्ण’ भन्दै वर्णन गरेका छन्।
प्रहरीका अनुसार, घटना भएको दिन बिहान छत्रका ज्वाइँ सन्तोष बस्नेत र छोरी ममता थापा काममा जाने तयारीमा थिए। सन्तोष बाहिर पार्किङमा आफ्नो कारबाट हिउँ पन्छाउँदै गर्दा अपार्टमेन्ट भित्रबाट चिच्याएको र ठुलो आवाज सुनेपछि भित्र दौडिएका थिए।
बाल्कोनीको ढोकाबाट भित्र छिर्दा उनले एक वर्षको छोरा एक्लै रोइरहेको भेटे भने श्रीमती ममता रगताम्मे अवस्थामा ढोकातिर भागिरहेको देखे। ममताले अन्तिम पटक चिच्याउँदै भनेकी थिइन्, ‘उसले हामीलाई माऱ्यो, उसले हामीलाई माऱ्यो!’
सन्तोषले आफ्ना ससुरा छत्र थापाले १० इन्च लामो मासु काट्ने ‘क्लिभर’ जस्तो देखिने धारिलो हतियारले सासू बिन्दा थापामाथि अन्धाधुन्ध प्रहार गरिरहेको बीभत्स दृश्य देख्नुपऱ्यो। त्यसलगत्तै छत्रले ज्वाइँ सन्तोषमाथि पनि आक्रमण सुरु गरेका थिए।
बिहीबार सार्वजनिक गरिएको प्रहरीको ‘बडी क्यामरा’ फुटेजमा एक युवा प्रहरी अधिकारी घटनास्थलमा पुग्दाको दृश्य कैद छ। प्रहरी सिढीबाट तल झर्दा ममता थापा बाहिरै रगतमा लतपतिएको अवस्थामा देखिन्छिन्। प्रहरीले उनलाई सिढीमा आउन आग्रह गरे पनि उनी हलचल गर्न सक्ने अवस्थामा थिइनन्।
भित्र बच्चा रोएको आवाज सुनेपछि प्रहरी ढोका फोडेर भित्र छिर्छन्। त्यहाँ छत्र थापाले सन्तोष बस्नेतलाई भुइँमा लडाएर छुरा प्रहार गरिरहेका थिए। प्रहरीले पटक-पटक ‘हतियार फाल’ भन्दा पनि छत्रले प्रहार नरोकेपछि प्रहरीले गोली चलाउनुपरेको थियो।
छत्रलाई कयौँ पटक गोली लागेपछि उनी ढलेका थिए। त्यसलगत्तै प्रहरीले रोइरहेको एक वर्षे बालकलाई उद्धार गरी सुरक्षित स्थानमा लगेका थिए।
फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले ती प्रहरी अधिकारीको बहादुरीको प्रशंसा गर्दै भने, ‘यदि ती अधिकारीले समयमै साहसिक र अनुशासित कदम नचालेको भए आज हामीसँग थप दुईवटा शव हुने थिए।’
छत्र थापाको कुनै पनि आपराधिक पृष्ठभूमि नरहेको र यसअघि त्यस अपार्टमेन्टबाट प्रहरीलाई कहिल्यै कुनै उजुरी नआएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख डेभिसका अनुसार छत्रमा केही समयदेखि ‘मानसिक स्वास्थ्य समस्या’ रहेको बुझिएको छ, तर उनले यति ठुलो कदम किन चाले भन्ने कुरा अझै रहस्यकै गर्भमा छ।
घाइते सन्तोष बस्नेतले एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई अझै पछुतो छ कि मैले आफ्नी श्रीमतीलाई बचाउन सकिनँ। उनले सहयोगका लागि पुकारिरहेको आवाज मेरो कानमा अझै गुञ्जिरहन्छ।’
सन्तोषले आफ्ना छोरालाई एउटा कोठामा थुनेर सुरक्षित राखेपछि मात्र ससुरासँग प्रतिरोध गरेका थिए।
यस हृदयविदारक घटनाले अमेरिकामा रहेका नेपालीहरूलाई मर्माहत बनाएको छ। गत मंगलबार बिन्दा र ममता थापाको अन्तिम संस्कार गरिएको छ, जहाँ ठुलो संख्यामा नेपाली समुदायका व्यक्तिहरू उपस्थित भएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
सन्तोष बस्नेत अहिले अस्पतालको उपचारपछि पुनर्स्थापना केन्द्रमा छन्। उनी निको भएपछि आफ्नी बहिनीसँग बस्न क्यालिफोर्निया जाने तयारीमा छन्, जहाँ अहिले उनको छोराको हेरचाह भइरहेको छ।
गोली चलाउने प्रहरी अधिकारीलाई हाल ‘प्रतिबन्धित ड्युटी’ मा राखिएको छ, जुन यस्ता घटनापछि गरिने एक सामान्य प्रशासनिक प्रक्रिया हो।
प्रारम्भिक अनुसन्धानले प्रहरीको कदम कानुनसम्मत र ज्यान जोगाउनका लागि चालिएको देखिएको छ।