दुई वर्षअघि भारतमा हराएको बच्चासँग अविश्वसनीय पुनर्मिलन

आप्रवासन आप्रवासन

भारतमा दुई वर्ष अघि आफ्नो बच्चा हराएका एक नेपाली दम्पतीले अन्ततः बच्चा फेला पारेका छन् ।

भारतको उत्तर प्रदेश राज्यको गाजियाबादस्थित विजयनगर क्षेत्रमा एक एकल महिलाले पालेको अवस्थामा सो बच्चा फेला परेको हो । ती महिलाले उक्त बच्चालाई एक बाल आश्रमबाट करिब १० महिना अघि कानुनी प्रक्रिया अन्तर्गत नै पाल्न भनेर लगेकी थिइन् ।

दुई वर्ष अघि आमाबुबासँग बिछोडिएको उक्त बच्चा विजयनगर क्षेत्रमा फेला परेको बताइएको छ । प्रहरीले बच्चाको अभिभावक फेला पार्न नसकेपछि बाल आश्रममा पठाएको थियो । बाल आश्रमबाट प्रक्रिया पु¥याएर ती एकल महिलाले उक्त बच्चालाई आफ्नो घरमा लगेर पालेकी थिइन् ।

यसबिचमा उक्त बच्चाका जैविक अभिभावक भने बच्चाको खोजीमा भौंतारिनु परेको थियो । उनीहरू नेपाली नागरिक रहेको बताइए पनि परिचय र ठेगाना खुलाइएको छैन ।

भारतीय सञ्चारमाध्यमका अनुसार बच्चा हराए लगत्तैदेखि खोजी कार्यमा जुटेका उनीहरू केही समयपछि निराश भएर नेपाल फर्किएका थिए । उनीहरूले काठमाडौँस्थित भारतीय दूतावासमा समेत बच्चा हराएको जानकारी दिँदै खोजी कार्यमा सहयोगका लागि आग्रह गरेको बताइन्छ ।

ती नेपाली दम्पती केही अघि भारत पुगेर बच्चाको खोजी प्रक्रियामा पुनः सामेल भएका थिए । सोही क्रममा विजयनगर थाना पुगेर उनीहरूले आफ्नो बच्चा पहिचान गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त बच्चाले समेत आफ्ना अभिभावकलाई पहिचान गरेको छ । यद्यपि, उक्त बच्चाको उमेर खुलाइएको छैन ।

उक्त बच्चालाई आफ्नो जैविक अभिभावकको जिम्मा लगाउनका लागि आवश्यक प्रक्रिया पाँच महिना अघि सुरु भएको र अब अन्तिम चरणमा पुगेको समाचारमा उल्लेख छ । जसअनुसार डीएनए परीक्षणसमेत गर्नुपरेको जनाइएको छ । दुई देशबिचको घटना भएका कारण नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधिको उपस्थितिमा बच्चा सुम्पिने प्रक्रिया पूरा हुनेछ ।