US Israel Iran War

ट्रम्पको अल्टिमेटमविरुद्ध इरानको जवाफ- ‘मध्यपूर्वका सबै देश खरानी बन्नेछन्’

आप्रवासन आप्रवासन

डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र होर्मुज स्ट्रेट नखोले इरानका ऊर्जा केन्द्रमा आक्रमण गर्ने चेतावनी दिएपछि इरानले कडा प्रतिक्रिया दिएको छ ।

यदि आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण भएमा मध्यपूर्वमा रहेका अमेरिकासँग जोडिएका सबै ऊर्जा पूर्वाधारहरूमाथि प्रत्याक्रमण गर्ने चेतावनी इरानले दिएको हो ।

यसअघि शनिबार, ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा दिएका थिए । ट्रम्पले यो समयावधिभित्र होर्मुज स्ट्रेट नखोलिए अमेरिकाले इरानी ऊर्जा केन्द्रहरू (पावर प्लान्टहरू) नष्ट गर्ने चेतावनी दिएसँगै इरानले पनि प्रत्याक्रमणको चेतावनी दिएको हो ।

विश्वको करिब २० प्रतिशत तेल तथा एलएनजी आपूर्ति हुने होर्मुज स्ट्रेटमा इरानले गरेको अवरोधका कारण पछिल्ला हप्ताहरूमा अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र वृद्धि भएको छ ।

ट्रम्पले दिएको अल्टिमेटम मार्च २४ मा तेहरानको समयअनुसार बिहान ०३:१४ बजे सकिन्छ ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, यदि आफूमाथि आक्रमण भएमा खाडी क्षेत्रभरि रहेका अमेरिकासँग जोडिएका ऊर्जा केन्द्रहरूलाई निशाना बनाउने तेहरानले बताएको छ।

ट्रम्पले भनेका छन्, ‘यदि इरानले ठीक यसै समयदेखि ४८ घण्टाभित्र होर्मुज स्ट्रेटलाई पूर्ण रूपमा र विना कुनै धम्की खोलेन भने संयुक्त राज्य अमेरिकाले उनीहरूका विभिन्न ऊर्जा केन्द्रहरूमा प्रहार गरेर नष्ट गर्नेछ, जसको सुरुवात सबैभन्दा ठूलोबाट हुनेछ!’

यसैबीच, इरानले दक्षिणी इजरायलका डिमोना र अरद सहरहरूमा भएको आक्रमणपछि १०० भन्दा बढी मानिस घाइते भएका छन् । उक्त आक्रमणको निशाना डिमोना सहरबाट १३ किलोमिटर टाढा रहेको आणविक केन्द्र (न्युक्लियर फ्यासिलिटी) भएको देखिन्छ।

इरानको आक्रमणपछि इजरायलले आफ्ना शत्रुहरूमाथि कारबाही जारी राख्ने चेतावनी दिएका छन् ।

उता, युएईले इरानको नयाँ क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफ दिएको बताएको छ । कतारको रक्षा मन्त्रालयले ‘नियमित ड्युटी’ को क्रममा आफ्नो समुद्री तटमा दुर्घटनाग्रस्त भएको हेलिकप्टरको खोजी गरिरहेको जनाएको छ।

इरानले जलमार्गमा लगाएको नाकाबन्दी र जहाजहरूमाथि गरेको आक्रमणका कारण हालैका हप्ताहरूमा तेलको मूल्य ह्वात्तै बढेको छ।