विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर त्यहाँका अवैध अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा बन्धक बनाइएका ५१ जना नेपाली नागरिकहरूको उद्धार गरिएको छ । बैंककस्थित नेपाली राजदूतावासको विशेष पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएका उनीहरू बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन् ।
गैरआवासीय नेपाली संघ ९एनआरएनए० कम्बोडियाको समेत सहजीकरणमा उद्धार गरिएका ती नेपालीहरू चैत १० गते कम्बोडियाबाट स्वदेशका लागि उडेका थिए । दूतावासका अनुसार उनीहरूलाई त्यहाँका अवैध अनलाइन ठगी केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो । धेरैजसो नेपालीहरू बिना भिसा वा भिसाको अवधि सकिएर अलपत्र अवस्थामा फेला परेका थिए ।
पछिल्लो समय कम्बोडियामा सञ्चालित स्क्यामिङ्ग केन्द्रहरूमा काम गर्ने नेपालीहरूको राहदानी कम्पनीले जफत गरिदिने वा ट्रान्सफर हुने क्रममा हराउने गरेको गुनासो बढ्दो छ । यस्तो अवस्थामा राहदानी नभएर अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउन राजदूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरेर सहयोग गरिरहेको छ । अझै पनि कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई उद्धार गरी नेपाल फर्काउने पहल जारी रहेको दूतावासले जनाएको छ ।