जापानको नागोया सहरमा रहेका नेपालीहरूका लागि लक्षित गर्दै नेपाली राजदूतावास टोकियोले वृहत् घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र क्षेत्रीय समिति नागोयासँगको सहकार्यमा आगामी अप्रिल ४ देखि ७ सम्म चार दिनसम्म यो शिविर सञ्चालन हुन लागेको हो।
शिविरमा विद्युतीय राहदानी (ई-पासपोर्ट) नवीकरण, बच्चाको नयाँ राहदानी आवेदन, यात्रा अनुमति पत्र, अधिकृत वारिसनामा र कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवाहरू प्रदान गरिनेछ। राहदानी नवीकरणका लागि सुरुमा छुट्याइएको १६०० स्लटहरू पूर्ण रूपमा बुकिङ भइसकेपछि दूतावासले सेवाग्राहीको चापलाई ध्यानमा राख्दै थप स्लटहरू खुला गर्ने तयारी गरेको छ।
यस विशेष कार्यका लागि नेपालको राहदानी विभाग काठमाडौँबाट समेत दुई जना कर्मचारीहरू नागोया आउने कार्यक्रम तय भएको छ। शिविरमा लिइएका आवेदनबाट तयार भई आएका राहदानी र अन्य कागजातहरू सिधै सेवाग्राहीको घरको ठेगानामा पठाइने व्यवस्था मिलाइएको छ।
राजदूतावासले यस घुम्ती शिविरका क्रममा नेपाल सरकारले तोकेको आधिकारिक राजस्व बाहेक अन्य कुनै पनि शुल्क कतै नबुझाउन सबैमा आग्रह गरेको छ। राजस्व रकम पनि सम्बन्धित स्थानमा मात्र बुझाउन विज्ञप्ति मार्फत सचेत गराइएको छ।