अमेरिकी रडार विमान नष्ट भएपछि इरानी खतरा पहिचानमा चुनौती हुने चेतावनी

आप्रवासन आप्रवासन

 इरानी आक्रमणमा साउदी अरबस्थित अमेरिकी हवाई बलको ई–३ सेन्ट्री विमान नष्ट हुँदा इरानबाट आउने खतराहरू पहिचान गर्ने अमेरिकी क्षमता प्रभावित हुनसक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

उक्त विमान प्रिन्स सुल्तान एयर बेसमा रहेको समयमा क्षतिग्रस्त भएको थियो । सीएनएनले प्राप्त गरेको भौगोलिक प्रमाणअनुसार विमानको पुच्छर टुक्रिएको छ र एडब्ल्यूएसीएस प्रणालीमा आधारभूत भूमिका खेल्ने यसको प्रमुख रोटेटिङ राडार डोम जमिनमा खसेको देखिएको छ ।

‘यो अमेरिकी निगरानी क्षमतामा गम्भीर धक्का हो । यसले लडाकु विमानहरू नियन्त्रण गर्ने, लक्ष्यमा पठाउने वा शत्रुको विमान र मिसाइल प्रणालीबाट जोगाउने क्षमतालाई असर गर्न सक्छ,’ पूर्व अमेरिकी वायुसेना कर्नेल तथा सीएनएनका सैन्य विश्लेषक सेड्रिक लाइटनले भने ।

एडब्ल्यूएसीएसले एक लाख २० हजार वर्ग माइल क्षेत्र निगरानी गर्न सक्छ र यसले दशकौँदेखि अमेरिकी सेनाका लागि महत्वपूर्ण भूमिका खेलेको छ । १७ वटा ई–३ विमानको अमेरिकी फ्लीट र यसको प्रयोगको अनुभवलाई विश्लेषकहरूले वासिङ्टनको मुख्य फाइदाका रूपमा मूल्यांकन गरेका छन् ।

सामाजिक सञ्जालमा विमान नष्ट भएका तस्बिरहरू देखिन थालेका छन् । सीएनएनले मार्च ११ का उपग्रह तस्बिरसँग मिलाएर ती तस्बिरहरूको स्थान पुष्टि गरेको छ । यस आक्रमणमा कम्तीमा १० जना अमेरिकी सैनिक घाइते भएका थिए । यस क्रममा कसैको मृत्यु भएको रिपोर्ट आएको छैन । साथै एक अमेरिकी ट्यांकर विमान पनि क्षतिग्रस्त भएको स्रोतहरूले बताएका छन् ।

ई–३ विमान आफैंमा शक्तिशाली हवाई कमाण्ड पोस्ट र निगरानी प्लेटफर्म हो । यसले एकै समयमा अन्य विमान, मिसाइल, ठूला ड्रोन वा रणभूमिमा रहेका ट्यांकरहरू समेत गरेर करिब ६०० लक्ष्य ट्र्याक गर्न सक्ने बताइएको छ । विमानभित्र कार्यरत कर्मचारीहरूले यो जानकारी कमाण्डर, समुद्री जहाज वा पेन्टागनमा रियल टाइममा पठाउन सक्छन् ।

एडब्ल्यूएसीएसमा कार्यरत कन्ट्रोलरहरूले आउँदै गरेका खतरालाई रोक्न इन्टरसेप्टर फाइटर जेट निर्देशित गर्ने, जमिनमा रहेका सैनिकलाई सहयोग गर्न आक्रमणकारी विमान पठाउने लगायतका काम गर्न सक्छन् । यसै महिना सेन्टर फर अ न्यू अमेरिकन सेक्युरिटीको एक प्रतिवेदनले एडब्ल्यूएसीएस विमानलाई रणभूमिको ‘क्वार्टरब्याक’ भनेको थियो । प्रतिवेदनले एडब्ल्यूएसीएसलाई आज र निकट भविष्यमा अमेरिकी सैन्य कारबाहीका लागि अपरिहार्य सम्पत्ति भनेको छ ।