हुण्डीबारे जानकारी दिन आग्रह, नाम गोप्य रहने दूतावासको आश्वासन

आप्रवासन आप्रवासन

दक्षिण कोरियास्थित नेपाली राजदूतावास, सउलले अनौपचारिक विप्रेषण कारोबार अर्थात् हुण्डी नियन्त्रण गर्न अत्यन्त जरुरी सूचना जारी गर्दै यस्ता गतिविधिबारे प्रमाणसहित जानकारी दिन नेपाली समुदायलाई आग्रह गरेको छ।

दूतावासले जारी गरेको सूचनामा विदेशमा बसेर अनौपचारिक रूपमा विप्रेषणको काम वा कारोबार गर्ने, वा सङ्कलित रकम नेपाल नपठाउने व्यक्तिहरूबारे गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय र सम्बन्धित निकायमा नियमित रूपमा पठाइँदै आएको उल्लेख छ। दूतावासका अनुसार यसअघि प्राप्त सूचना तथा तथ्याङ्क पनि आवश्यक प्रक्रियाका लागि मन्त्रालयमा पठाइँदै आएको छ।

1

सूचनामा दक्षिण कोरियालगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत नेपाल पठाइने विप्रेषण निरन्तर बढिरहेको उल्लेख गर्दै, हुण्डी तथा शङ्कास्पद कारोबारबारे विदेशस्थित नेपाली नियोगहरूले पठाएका जानकारीका आधारमा नेपाल राष्ट्र बैंक र सम्बन्धित अनुसन्धान निकायहरूले थप छानबिन गरिरहेको जनाइएको छ।

दूतावासले नेपाल सरकारले हालै स्वीकृत गरेको शासन सुधारसम्बन्धी कार्यसूचीअनुसार शङ्कास्पद कारोबार पहिचान गर्ने र अनुसन्धान प्रक्रिया अघि बढाउने व्यवस्था पनि कार्यान्वयनतर्फ अघि बढिसकेको स्मरण गराएको छ। त्यही व्यवस्थाअनुसार जोखिममा आधारित निगरानी प्रणाली लागू गर्ने तयारी पनि भइरहेको सूचनामा उल्लेख छ।

राजदूतावासले दक्षिण कोरियामा रहेका नेपालीहरूलाई कुनै पनि अवस्थामा अनौपचारिक विप्रेषण कारोबारमा संलग्न नहुन, नगराउन र त्यस्तो कार्य भइरहेको जानकारी भए प्रमाणसहित दूतावासलाई इमेल वा मेसेन्जरमार्फत सूचित गर्न आग्रह गरेको छ। सूचना दिने व्यक्तिको नाम पूर्ण रूपमा गोप्य राखिने पनि दूतावासले स्पष्ट पारेको छ।

दूतावासले हुण्डीविरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको बताउँदै, अनौपचारिक विप्रेषण रोक्न समुदायको सक्रिय सहभागिता अपेक्षा गरेको छ।