वैदेशिक रोजगारीमा जाने कामदारले अब आफ्नो स्वास्थ्य परीक्षण सबै अस्पतालबाट पनि गर्न पाउने भएका छन्।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले स्वास्थ्य क्षेत्रको सिन्डिकेट तोड्दै अस्पतालबाट पनि स्वास्थ्य परीक्षण गराउने बाटो खुला गरिदिएका हुन्।
आज बिहानै श्रम मन्त्री शाहले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा स्वास्थ्य परीक्षण समितिबाट मात्र नभई अस्पतालबाट पनि गर्ने निर्णय गरिएको बताए।
उनले वैदेशिक रोजगारीमा जाने कामदारका लागि अस्पतालबाट पनि स्वास्थ्य परीक्षण गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए।
श्रम तथा रोजगार मन्त्रालयले जारी गरेको मापदण्डअनुसार हाल १९४ वटा स्वास्थ्य संस्था नवीकरण भएका छन्। यिनै संस्थामार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण हुँदै आएको थियो। अब आगामी दिनमा सबै अस्पतालबाट पनि स्वास्थ्य परीक्षण गर्न मिल्ने भएको छ।
मलेसियाद्वारा छानिएका ३६ वटा स्वास्थ्य संस्था, गल्फ कोअपरेशन काउन्सिलद्वारा छानिएका १९ स्वास्थ्य परीक्षण संस्था, गाम्का र कतार भिसा सेन्टर, अमेरिका जाने व्यक्तिको आइओएम, तथा कोरियाका लागि शुक्रराज ट्रपिकल अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र नेपाल कोरियामैत्री अस्पतालले स्वास्थ्य परीक्षण गर्दै आएका छन्। यी संस्थाहरूलाई मात्रै सिन्डिकेट भएको आरोप लगाइएको छ।
इजरायल, कोरिया, जापान, अमेरिका, अस्ट्रेलियालगायत देशहरूको स्वास्थ्य परीक्षण शुल्क कम्तीमा १२ हजार रुपैयाँ र मलेसियाको १० हजारभन्दा माथि रहेको छ। प्रमुख गन्तव्य मुलुक अरब र मलेसियालगायत देशमा जाने स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय तोकिए पनि मलेसियाको मेडिकलमा सिन्डिकेट गर्दै नेपाल स्वास्थ्य व्यवसायी महासङ्घले १० हजार असुल्ने गरेको छ।