प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले जारी गरेको शासकीय सुधारका १०० कार्यसूची अनुसार काम हुने हो भने अबको १०० दिनभित्र पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजात घर–घरै डेलिभरी हुनेछ।
कार्यसूचीको २७औं बुँदामा 'हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी सेवाहरू छिटो, सहज र बिचौलियामुक्त बनाउँदै १०० दिनभित्र घर–घरमै पुर्याउने व्यवस्था लागू गर्ने' भनिएको छ। सरकारी सेवालाई नागरिकको घरदैलोमै पुऱ्याउन हुलाक सेवालाई आधुनिकीकरण गर्दै ‘गभर्मेन्ट कुरियर सर्भिस’ (Government Courier Service) का रूपमा विकास गर्ने भएको छ ।
शनिबार सार्वजनिक गरिएको कार्यसूचीमा सरकारी कागजात प्राप्त गर्न कार्यालयमै पुग्नुपर्ने झन्झट हटाउन आधुनिक कुरियर प्रणाली विकास गर्ने उल्लेख छ । यस व्यवस्था अन्तर्गत प्रविधिको प्रयोग गरी पासपोर्ट, नागरिकताको प्रतिलिपि र लाइसेन्स जस्ता महत्वपूर्ण सरकारी कागजात नागरिकको घरमै पुऱ्याउने व्यवस्था मिलाइने सरकारले जनाएको छ ।