वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सञ्चालन हुने अभिमुखीकरण तालिमको शुल्क यथावत् ७ सय रुपैयाँ नै रहेको स्पष्ट पारेको छ। विभागले एक सूचना जारी गर्दै तालिम शुल्कमा कुनै वृद्धि नगरिएको र निर्धारित रकमभन्दा बढी लिन नपाइने जनाएको हो।
विभागका अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले प्रस्थान पूर्व अनिवार्य रूपमा अभिमुखीकरण तालिम लिनुपर्छ। अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०६८ को दफा १६ अनुसार प्रति प्रशिक्षार्थी शुल्क ७ सय रुपैयाँ तोकिएको छ। दुई दिन सञ्चालन हुने उक्त तालिमको कुल शुल्क पनि ७ सय रुपैयाँ नै हुने विभागले जनाएको छ।
पछिल्लो समय केही अभिमुखीकरण प्रदायक संस्थाले २ हजार १ सय रुपैयाँसम्म शुल्क लिएको गुनासो आएपछि विभागले त्यसप्रति ध्यानाकर्षण भएको बताएको छ। यसअघि पनि मिति २०८१ असोज १३ गते प्रेस विज्ञप्तिमार्फत शुल्क ७ सय रुपैयाँ नै रहेको जानकारी दिइसकिएको विभागले स्मरण गराएको छ।
विभागले वैदेशिक रोजगारसम्बन्धी प्रचलित ऐन, नियम, कार्यविधि तथा समय–समयमा जारी सूचनाअनुसार अभिमुखीकरण तालिम सञ्चालन हुने उल्लेख गर्दै ७ सय रुपैयाँभन्दा बढी शुल्क लिएको पाइएमा त्यस्ता संस्थाको इजाजत पत्र स्वतः खारेज हुने चेतावनी दिएको छ।
विभागले सबै मान्यता प्राप्त तालिम प्रदायक संस्थालाई तोकिएको शुल्क मात्र लिन र कार्यविधिको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै, बढी शुल्क लिएको प्रमाण भेटिएमा विभागलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।
