अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गर्दै आएको ‘ट्राभल एड्भाइजरी’ ९यात्रा सम्बन्धी सुझाव० को जोखिम स्तर घटाएको छ। बालेन शाह नेतृत्वको सरकार आएसँगै मंगलबार अद्यावधिक गरिएको नयाँ सूचनाअनुसार नेपालको सुरक्षा स्थितिमा सुधार आएको भन्दै जोखिम स्तरलाई (लेभल २) (अतिरिक्त सतर्कता अपनाउनुपर्ने अवस्था) मा झारिएको छ।
अद्यावधिक गरिएको एड्भाइजरीमा सन् २०२५ को सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएको र समग्र सुरक्षा स्थिति स्थिर रहेको उल्लेख गरिएको छ। यद्यपि, विशेषगरी सहरी क्षेत्रहरूमा पूर्वसूचना विना नै अचानक प्रदर्शन र स्थानीय अशान्तिहरू अझै पनि हुन सक्ने र ती छिट्टै हिंसात्मक बन्न सक्ने सम्भावना रहेकोतर्फ अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत गराएको छ। यस्ता सम्भावित जोखिमबाट बच्न ठूला भिडभाडबाट टाढा रहन र स्थानीय अधिकारीहरूको निर्देशन कडाइका साथ पालना गर्न सुझाइएको छ।
स्वास्थ्य सेवाका सन्दर्भमा नेपालको सामान्य तथा आपतकालीन चिकित्सा सेवा सीमित क्षमताको रहेको सूचनामा जनाइएको छ। काठमाडौंका अस्पतालहरू अन्य क्षेत्रका तुलनामा राम्रा भए पनि त्यहाँ बिरामीको चाप बढी हुने, केही उपकरण वा औषधिको अभाव हुन सक्ने र उपचारअघि नै अग्रिम भुक्तानी गर्नुपर्ने अवस्था रहेको प्रष्ट पारिएको छ।
नेपाल सरकारले विदेशी नागरिकको उपचार खर्च नब्यहोर्ने भएकाले आफ्ना लागि आवश्यक पर्ने औषधि आफैँ बोक्न र गम्भीर प्रकृतिका उपचारका लागि अन्य देश जानुपर्ने अवस्था आउन सक्ने भन्दै मेडिकल इभ्याकुएसनु ९हवाई उद्धार० समेटिएको स्वास्थ्य बिमा गर्न सुझाव दिइएको छ।
त्यसैगरी, प्राकृतिक प्रकोपका हिसाबले नेपालमा भूकम्प, बाढी र पहिरोको नियमित जोखिम रहेको चेतावनीसमेत दिइएको छ। काठमाडौं उपत्यकासहित देशका कुनै पनि भागमा अचानक भूकम्प जान सक्ने तथा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनयाममा भारी वर्षाका कारण आउने बाढी तथा पहिरोले सडक अवरुद्ध हुने र आपतकालीन उद्धारमा समेत कठिनाइ हुन सक्ने अवस्थाप्रति सचेत गराइएको छ।
नेपाल भ्रमण गर्ने निर्णय गरेका आफ्ना नागरिकहरूलाई अमेरिकी दूतावासबाट महत्त्वपूर्ण जानकारी तथा अलर्टहरू प्राप्त गर्न स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्रामु मा दर्ता हुन समेत आग्रह गरिएको छ। साथै, स्थानीय सञ्चारमाध्यमका समाचारमा अद्यावधिक रहन, भिडभाडबाट बच्न र यात्राअघि अनिवार्य रूपमा आपतकालीन उद्धार तथा यात्रा रद्दलगायतका सुविधा भएको भरपर्दो ट्राभल बिमा खरिद गर्न अमेरिकाले विशेष जोड दिएको छ।