२ हजार नेपालीको मुद्दा उठाए खानाल, पोर्चुगलको सकारात्मक संकेत

आप्रवासन आप्रवासन

परराष्ट्रमन्त्री शिशिर खानालले पोर्चुगलका विदेश राज्यमन्त्री तथा विदेशमन्त्री महामहिम पाउलो रान्जेलसँग टेलिफोन वार्ता गर्दै पोर्चुगलमा प्रक्रियागत र कानुनी समस्यामा परेका दुई हजारभन्दा बढी नेपाली नागरिकको अवस्थाबारे पुनर्विचार गर्न आग्रह गरेका छन्।

वार्ताका क्रममा मन्त्री खानालले भारतको नयाँ दिल्लीस्थित पोर्चुगल र नेपालका दूतावासबाट प्रमाणित भएको भनिएका कागजातमा नक्कली छाप प्रयोग गरिँदा, विशेषगरी पोलिस क्लियरेन्स सर्टिफिकेटका कारण, पोर्चुगलमा रहेका नेपालीहरूले कठिनाइ भोगिरहेको विषय उठाएका थिए। उनले प्रभावित नेपालीहरूको मुद्दालाई मानवीय दृष्टिकोणबाट हेरेर समाधान गर्न अनुरोध गरे।

यसैबीच, मन्त्री रान्जेलले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन्। उनले यस विषयलाई सम्बन्धित निकायहरूसँग सकारात्मक रूपमा उठाएर प्रभावित नेपालीहरूको मुद्दा पुनरावलोकन गर्न आवश्यक पहल गर्ने आश्वासन दिएको बताइएको छ।

टेलिफोन वार्ताका क्रममा मन्त्री रान्जेलले परराष्ट्रमन्त्री खानाललाई नेपाल सरकारको परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए।

दुवै पक्षले नेपाल–पोर्चुगलबीचको द्विपक्षीय सम्बन्ध अत्यन्त सुदृढ रहेको भन्दै सन्तुष्टि व्यक्त गरेका छन्। साथै, जलविद्युत्, कृषि, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधि क्षेत्रलगायतमा आपसी सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता पनि जनाइएको छ।