युरोपेली देश पोर्चुगलले काठमाडौँमा आफ्नो कन्सुलर कार्यालय स्थापना गर्ने औपचारिक घोषणा गरेको छ। पोर्चुगलको विदेश मन्त्रालयले सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत उक्त निर्णय सार्वजनिक गरेको हो।
यो कदमले नेपाल–पोर्चुगल द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनुका साथै आपसी सहकार्य, हित र सहयोग विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। नेपालले लामो समयदेखि काठमाडौँमा पोर्चुगलको दूतावास स्थापना गर्न आग्रह गर्दै आएको थियो।
काठमाडौँमै कन्सुलर सेवा उपलब्ध भएपछि पोर्चुगल जान चाहने तथा त्यहाँ बसोबास गर्ने नेपाली नागरिकलाई ठूलो राहत मिल्नेछ। विशेषगरी भिसा, कागजात प्रमाणीकरणलगायत सेवाका लागि भारतको नयाँ दिल्ली धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
यससँगै नेपालमा पोर्चुगलको कूटनीतिक उपस्थिति बढ्ने भएकाले व्यापार, लगानी, पर्यटन, ऊर्जा, कृषि र प्रविधि क्षेत्रमा सहकार्य विस्तार हुने देखिएको छ।
यसअघि नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच टेलिफोन वार्ता भएको थियो। उक्त वार्तामा मन्त्री खनालले नक्कली छाप (फेक स्ट्याम्प) का कारण समस्यामा परेका दुई हजारभन्दा बढी नेपाली नागरिकको विषय उठाउँदै सहजीकरणका लागि आग्रह गरेका थिए।
जवाफमा विदेशमन्त्री रान्जेलले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायको योगदानको प्रशंसा गर्दै समस्यामा परेका नेपालीको मुद्दालाई मानवीय आधारमा समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए।