एनआरएनए टास्कफोर्स नेतृत्वमा न्यौपाने, श्रमिक हित प्राथमिकतामा

आप्रवासन आप्रवासन

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारसम्बन्धी टास्कफोर्सको संयोजकमा संघका प्रथम उपाध्यक्ष खगेन्द्र न्यौपानेलाई नियुक्त गरेको छ। २०२५–२०२७ कार्यकालका लागि भएको यो नियुक्ति संघको ११४औँ आईसीसी बैठकको निर्णयअनुसार गरिएको हो।

संघले न्यौपानेलाई वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधार, श्रमिक अधिकार संरक्षण र अन्तर्राष्ट्रिय समन्वयलाई प्रभावकारी बनाउने महत्वपूर्ण जिम्मेवारी दिएको छ। उनले अब विस्तृत कार्ययोजना तयार गरी दक्ष र अनुभवी सदस्यहरू समेटेर टिम गठन गर्ने र विभिन्न गन्तव्य मुलुकका निकाय तथा नेपाली कूटनीतिक नियोगहरूसँग सहकार्य गर्दै काम अघि बढाउने बताएका छन्।

नयाँ जिम्मेवारी सम्हाल्दै न्यौपानेले प्रवासमा रहेका नेपाली श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले श्रम शोषण, असुरक्षित कार्यस्थल, न्यून पारिश्रमिक र कानुनी जटिलता जस्ता समस्यालाई प्राथमिकतामा राख्दै समाधानमुखी पहल गरिने स्पष्ट पारे।

उनका अनुसार टास्कफोर्सले नेपाल सरकारसँग समन्वय गर्दै नीतिगत सुधार अघि बढाउने मात्र होइन, गन्तव्य मुलुकहरूसँग भएका श्रम सम्झौतालाई थप प्रभावकारी बनाउने दिशामा पनि काम गर्नेछ।

प्रवासी नेपाली समुदायले न्यौपानेको नियुक्तिलाई अनुभवी र परिणाममुखी नेतृत्वको रूपमा लिएको छ। लामो समयदेखि प्रवासमा सक्रिय उनीबाट वैदेशिक रोजगार क्षेत्रमा ठोस उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।

यो नियुक्तिसँगै एनआरएनएले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान गर्न संरचनागत तथा नीतिगत पहललाई तीव्र बनाउने संकेत दिएको छ।

NRNA Notice