हाइफाको आवासीय भवनमा इरानी आक्रमण, दुईको मृत्यु

आप्रवासन आप्रवासन

इजरायलको हाइफामा रहेको एउटा छतले आवासीय भवनमा मिसाइल आक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

उद्धारकर्मीहरूले सो भवनबाट दुई शव फेला परेका छन् । अन्य दुई जना अझै बेपत्ता रहेको बताइएको छ । इजरायलको आकस्मिक सेवा मेगन डेभिड एडोमका अनुसार उद्धार टोलीहरूले आइतबार रातभर भग्नावशेषमा खोजी कार्य जारी राखेका थिए । घाइते र मृतक चार जनाले मिसाइल नजिकिँदै गर्दा सुरक्षित स्थानमा पुग्ने समय नपाएका हुन सक्ने इजरायली सेनाले भनेको छ । 

हाइफामा प्रहार भएको मिसाइल धेरै सय किलो तौलको ब्यालिस्टिक मिसाइल भएको सोमबार सीएनएनसँग कुरा गर्दै एक सैन्य प्रवक्ताले बताए । उक्त मिसाइल रोक्न प्रक्षेपण गरिएका इन्टरसेप्टरहरू असफल भएको पनि उनले बताए ।

यसैबिच होम फ्रन्ट कमान्डका प्रमुख बिग्रेडियर जनरल एलाड एद्रीले यस आक्रमणमा अरु धेरै मानिस घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको बताएका छन् । उनले घटनास्थललाई ठुलो विनाशको क्षेत्र भनेका छन् ।

उद्धारकर्मीहरूले भग्नावशेष हटाउन निकै कठिनाइ भोगेका थिए । मेगन डेभिड एडोमका वरिष्ठकर्मी  शेवाच रोथेन्स्ट्रिचका अनुसार ८२ वर्षीय एक वृद्धलाई उद्धार गर्न ठुला कंक्रिटका टुक्राहरू हातैले सार्नुपरेको र भवनमा बाँचेका व्यक्तिहरूले तल्लो तलामा अझै पनि मानिसहरू थुनिएको हुन सक्ने बताएको भनेका छन् ।

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६३ जनालाई अस्पताल भर्ना गरिएको छ ।