अमेरिका र इरानबीच बढ्दो तनावबीच युद्ध रोक्ने उद्देश्यले नयाँ शान्ति प्रस्ताव अघि सारिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार दुवै देशलाई युद्ध अन्त्यका लागि दुई चरणको ‘फ्रेमवर्क’ प्रस्तुत गरिएको हो, जसमा पाकिस्तानले प्रमुख मध्यस्थकर्ताको भूमिका खेलेको बताइएको छ।
प्रस्तावअनुसार पहिलो चरणमा तत्काल ४५ दिनको युद्धविराम लागू गर्ने र त्यसपछि दीर्घकालीन शान्ति स्थापनाका लागि विस्तृत सम्झौता गर्ने योजना राखिएको छ। यस वार्तामा पाकिस्तानसँगै इजिप्ट र टर्की पनि मध्यस्थतामा सक्रिय रहेको जनाइएको छ।
समाचारअनुसार पाकिस्तानका सेना प्रमुख असिम मुनिरले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग निरन्तर संवाद गरिरहेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज जलसन्धि खोल्न समयसीमा दिँदै नमानिए नागरिक पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका छन्।
तर इरानले भने दबाब र धम्कीका आधारमा वार्ता सम्भव नहुने स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले यसअघि आएको अमेरिकी १५ बुँदे प्रस्ताव अस्वीकार्य रहेको बताएका छन्। साथै, इरानले आफ्ना ‘रेड लाइन’लाई ध्यानमा राख्दै छुट्टै प्रस्ताव तयार पारेको र उपयुक्त समयमा सार्वजनिक गर्ने जनाएको छ।
इरानले अस्थायी युद्धविरामको सर्तमा रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलसन्धि खोल्न अस्वीकार गरेको छ। नयाँ प्रस्तावमा जलसन्धि, आणविक कार्यक्रम र क्षेत्रीय सुरक्षाजस्ता विषय कसरी सम्बोधन गरिएका छन् भन्ने अझ स्पष्ट भइसकेको छैन।
यद्यपि दुवै पक्षले औपचारिक प्रतिक्रिया दिन बाँकी रहे पनि अन्तर्राष्ट्रिय समुदायले यसलाई युद्ध रोक्ने सम्भावित अवसरका रूपमा हेरिरहेको छ।