अब टिकटसँगै बिल अनिवार्य, रसिद बिना विदेश जान नपाइने

आप्रवासन आप्रवासन

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सरकारले नयाँ कडाइ लागू गरेको छ। अब प्रत्येक श्रमिकले गन्तव्य मुलुकसम्मको हवाई टिकटसँगै त्यसको आधिकारिक बिल वा रसिद अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ। यो व्यवस्था म्यानपावरमार्फत जाने र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर जाने सबै श्रमिकका लागि समान रूपमा लागू हुने विभागले जनाएको छ।

यसअघि टिकट मात्र देखाए पुग्नेमा अब टिकट खरिद गर्दा तिरेको रकमको प्रमाण पनि अनिवार्य गरिएको छ।

यस्तै, म्यानपावर कम्पनीमार्फत विदेश जान लागेका श्रमिकहरूले सेवा शुल्क तिरेको आधिकारिक रसिद पनि विमानस्थलमा देखाउनुपर्नेछ। इजाजतप्राप्त संस्थालाई बुझाएको रकमको प्रमाण नभए अब विमानस्थलबाट प्रस्थान गर्न नपाइने व्यवस्था गरिएको छ।

विभागले म्यानपावर कम्पनीहरूलाई पनि श्रमिकबाट लिएको शुल्कको भौचर, रसिद वा भरपाई अनिवार्य रूपमा दिन निर्देशन दिएको छ। पछिल्लो समय चर्को शुल्क असुल्ने तर रसिद नदिने गुनासो बढेपछि सरकारले विमानस्थलमै कडाइका साथ जाँच गर्ने नीति अघि सारेको हो।