१५ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै छ ग्रीस

आप्रवासन आप्रवासन

ग्रीसले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने भएको छ ।

ग्रिसेली प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बुधबार घोषणा गर्दै २०२७ जनवरी १ देखि १५ वर्षमुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाइने बताएका हुन् । यो कदम अनलाइन प्लेटफर्महरूको लत बसाउने खालको डिजाइन, बढ्दो चिन्ता र निद्राको समस्या घटाउन उठाइएको भनेर उनले भनेका छन् । 

'लामो समय स्क्रिनमा बिताउने बालबालिकाले आफ्नो मस्तिष्कलाई विश्राम दिन पाउँदैनन्' युवाहरूलाई लक्षित गर्दै भिडियो सन्देशमा मित्सोटाकिसले भनेका छन् । लगातार तुलना र अनलाइन टिप्पणीतर्फबाट बढ्दो दबाबको सामना गर्नुपर्ने पनि उनले बताए । आफूले धेरै अभिभावकहरूसँग कुरा गरेको अनि बालबालिकाहरू ठीकसँग सुत्दैनन्, चिन्ताग्रस्त हुने र लामो समय मोबाइलमा बिताउँछन भनेर उनीहरूले भनेको मित्सोटाकिसले बताए । फेब्रुअरीमा प्रकाशित एल्कोको सर्वेक्षण अनुसार करिब ८० प्रतिशत जनताले यस्तो प्रतिबन्धको समर्थन गरेका छन् । 

ग्रीस सरकारले विद्यालयमा मोबाइल फोन प्रयोग पहिले नै निषेध गरिसकेको छ र किशोरहरूको स्क्रिन समय सीमित गर्न अभिभावक नियन्त्रण प्लेटफर्महरू पनि स्थापना गरेको छ ।

प्रधानमन्त्री मित्सोटाकिसले भने, 'ग्रीस यस प्रकारको पहल गर्ने पहिलो देशहरू मध्येमा पर्छ । म विश्वस्त छु कि यो अन्तिम कदम हुनेछैन । हाम्रो लक्ष्य यस दिशामा युरोपेली संघलाई पनि प्रेरित गर्नु हो।' यसअघि अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल पहुँच रोक्ने पहिलो देश बनेको थियो ।

स्लोभेनिया, ब्रिटेन, अस्ट्रिया र स्पेनले पनि यस्तै प्रतिबन्धमा काम गरिरहेका छन् ।