नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एक यात्रुको बिदाइका लागि अधिकतम तीन जनासम्म मात्र विमानस्थल आउन पुनः आग्रह गरेको छ। एक यात्रुलाई बिदाइ गर्न १० जनासम्म पुग्ने गरेकाले विमानस्थल परिसरभित्र अत्यधिक भिडभाड बढ्दै गएको भन्दै प्रशासनले अनावश्यक भीड नगर्न अनुरोध गरेको हो।
विमानस्थल प्रशासनले पटक–पटक सूचना जारी गर्दै भीड नियन्त्रण गर्न आग्रह गर्दै आए पनि अपेक्षित सुधार नदेखिएको जनाएको छ। अत्यधिक भीडका कारण सुरक्षा चुनौती थपिने, व्यवस्थापनमा समस्या हुने र स्वदेशी तथा विदेशी हवाई यात्रुको आवागमनमा असुविधा हुने गरेको विमानस्थलको भनाइ छ।
यही अवस्थालाई ध्यानमा राख्दै विमानस्थल कार्यालयले अबदेखि एक यात्रु बराबर बढीमा तीन जना आफन्त वा सहयोगी मात्र आउने व्यवस्था मिलाउन आग्रह गरेको छ। प्रशासनले यात्रु तथा आफन्तलाई सहकार्य गर्न पनि अनुरोध गरेको छ।
