अमेरिकाको कुनै पनि धम्कीसामु आफू नझुक्ने इरानले बताएको छ । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी लगाउने घोषणा गरेपछि सोको कडा प्रतिक्रियामा इरानले आफू कुनै पनि दबाब वा धम्कीको सामु नझुक्ने स्पष्ट पारेको हो ।
इरान र अमेरिकाबिच पाकिस्तानमा भएका शान्ति वार्ताहरू लगभग सहमति नजिक पुगेका थिए । तर त्यसपछि अमेरिकाले अत्यधिक माग, लक्ष्य परिवर्तन र नाकाबन्दीको नीति अपनाएको उनले आरोप लगाए ।
यसैबिच, इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकी निर्णयप्रति व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा लेखेका छन्- ‘अहिले इन्धनको मूल्यको मजा लिनुहोस् । तथाकथित ‘नाकाबन्दी’ पछि तपाईंहरू ४ डलर–५ डलरको पेट्रोल मूल्यलाई सम्झनुहुनेछ ।’
उनले यसअघि पनि एक वक्तव्यमा इरानले कुनै पनि धम्कीको सामु नझुक्ने बताएका थिए । अर्कोतर्फ, ट्रम्पले स्ट्रेट अफ होर्मुजमा प्रवेश गर्ने वा बाहिरिने ‘जुनसुकै जहाज’ लाई नाकाबन्दी गर्ने चेतावनी दिएपछि इरानी नौसेनाले पनि कडा प्रतिक्रिया दिएको छ ।
इरानी नौसेनाले उक्त जलमार्ग नजिक आउने कुनै पनि सैन्य जहाजलाई कडा रूपमा सामना गरिने चेतावनी दिएको छ । विश्लेषकहरूका अनुसार होर्मुजमा बढ्दो तनावले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर प्रभाव पार्न सक्छ ।