स्ट्रेट अफ होर्मुज हुँदै ४ वटा जहाज वारपार

आप्रवासन आप्रवासन

स्ट्रेट अफ होर्मुजमा रातिदेखि चार वटा जहाजले वारपार गरेका छन् । बीबीसीले गरेको ट्रयाकिङका अनुसार अमेरिकाको मध्य कमान्ड सेन्टकमले यस क्षेत्रमा नाकाबन्दी लगाएयता जम्मा चार वटा जहाज  बाहिरिएका छन् ।

सेन्टकमले सोमबारदेखि इरानी बन्दरगाहमा प्रवेश र बाहिरिने सबै समुद्री यातायातमाथि नाकाबन्दी लागू गर्ने घोषणा गरेपछि उक्त क्षेत्रको गतिविधि नजिकबाट हेरिँदै आएको छ । सेन्टकमले आइतबार राति २१ः ५२ बीएसटीमा वक्तव्य जारी गरेपछि मरिन ट्राफिकले उपलब्ध गराएको जहाज ट्र्याकिङ तथ्यांकअनुसार चार वटा जहाज हर्मुज पार गरेको देखिएको हो ।

पार गर्ने सबै जहाज ट्यांकर रहेको बताइएको छ । यी जहाजले तेल, ग्यास वा रसायन बोक्ने गर्छन् । प्रारम्भिक तथ्यांकअनुसार ती जहाजहरूको इरानसँग प्रत्यक्ष सम्बन्ध देखिएको छैन, न त ती इरानी बन्दरगाहतर्फ गइरहेका वा त्यहाँबाट आएका पुष्टि भएको छ।

यद्यपि, विश्लेषणका लागि प्रयोग गरिएको तथ्याङ्क जहाजहरूले आफैँ प्रसारण गर्ने सूचनामा आधारित भएकाले पूर्ण पुष्टि हुन बाँकी रहेको बीबीसी जनाएको छ।  यसैबिच सेन्टकमले अमेरिकी नौ सेनाका दुई विध्वंसक युद्धपोत यूएसएस फ्रयांक ई पिटर्सन जुनियर र यूएसएस माइकल मर्फी उक्त क्षेत्रमा तैनाथ गरिएको जानकारी दिएको छ।

ती जहाजहरू इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) द्वारा राखिएका समुद्री सुरुङ हटाउने अभियानमा संलग्न रहेको बताइएको छ। नाकाबन्दी लागू हुने समय नजिकिँदै जाँदा हर्मुज क्षेत्रमा जहाज आवागमनको अवस्थालाई निरन्तर अनुगमन गरिएको छ।