वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरमै बसेर वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट/एनओसी) लिन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले एनओसी सेवालाई फेसलेस बनाउँदै अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था मिलाएको हो।
यसका लागि एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय तथा काठमाडौँ विश्वविद्यालयबीच एपीआई अन्तरआबद्धता सम्पन्न गरिएको छ। त्रिभुवन विश्वविद्यालयसँग वैशाख ४ गते सम्झौता भएको हो भने काठमाडौँ विश्वविद्यालयसँग यसअघि नै सम्झौता भइसकेको थियो। अब विद्यार्थीले घरबाटै अनलाइन आवेदन दिन सक्ने र सम्पूर्ण प्रक्रिया पूरा भएपछि प्रमाणपत्र आफैं प्रिन्ट गर्न सक्नेछन्।
दुवै विश्वविद्यालयसँग प्रणाली जोडिनुअघि नागरिकताको विवरण गृह मन्त्रालयअन्तर्गतको सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (सीआइएमएस) बाट र एनईबीको रजिस्ट्रेसन नम्बर तथा जन्ममिति आधारमा शैक्षिक विवरण मिल्ने अवस्थामा आवेदकलाई कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ।
यद्यपि स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहमा अध्ययनका लागि जाने विद्यार्थीले भने विश्वविद्यालयको सर्टिफिकेट पेस गर्नुपर्ने व्यवस्था यथावत् छ। विश्वविद्यालयका प्रणालीसँग पूर्ण अन्तरआबद्धता नभएकाले त्यस्ता आवेदकले विवरण रुजु गर्न कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्नेछ।
त्यस्तै, महालेखा नियन्त्रक कार्यालयको रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टम (रिमास) सँग पनि अन्तरआबद्धता गरिएको छ। यससँगै एनओसीको राजस्व पूर्ण रूपमा अनलाइनमार्फत भुक्तानी गर्न सकिने भएको छ।
अनुमोदन भएको एनओसी प्रमाणपत्र आवेदकले आफ्नै प्रोफाइलबाट पेपरलेस रूपमा डाउनलोड गर्न सक्नेछन्। प्रमाणपत्रमा क्यूआर कोड हुने भएकाले आवश्यक परेको खण्डमा सजिलै स्क्यान गरेर प्रमाणित गर्न सकिने एनओसी शाखाले जनाएको छ।