मलेसियाबाट नेपाली सहित विभिन्न देशका २१ कैदीहरुलाई देश निकाला

आप्रवासन आप्रवासन

तेरेङ्गानु राज्यस्थित अध्यागमन विभागले विभिन्न देशका कैदीहरूलाई स्वदेश फिर्ता गर्ने प्रक्रिया सम्पन्न गरेको छ। अप्रिल २६ मा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) को टर्मिनल १ र टर्मिनल २ मार्फत २१ जना विदेशी कैदीलाई उनीहरूको मुलुक फर्काइएको हो।

अध्यागमन विभागको ‘Evacuation Unit’ ले Ajil Immigration Depot को सुरक्षा टोलीसँगको सहकार्यमा उक्त प्रक्रिया सम्पन्न गरेको जनाएको छ। फिर्ता गरिएका कैदीहरूको उमेर २२ देखि ५० वर्षसम्म रहेको छ, जसमा १९ पुरुष र २ महिला रहेका छन्।

राष्ट्रियताअनुसार १२ जना बंगलादेशी, ७ जना इन्डोनेसियाली, १ जना नेपाली र १ जना चिनियाँ नागरिक रहेका छन्। विभागका अनुसार सबैले कानुनी प्रक्रिया पूरा गरी सजाय भुक्तान गरिसकेपछि उनीहरूलाई स्वदेश फर्काइएको हो।

साथै, सम्बन्धित अध्यागमन कानुनअनुसार उनीहरूलाई कालोसूची (ब्ल्याकलिस्ट) मा राखिएको छ, जसका कारण उनीहरूले भविष्यमा मलेसिया प्रवेश गर्न नपाउने जनाइएको छ।

अध्यागमन विभागले यस्ता कारबाहीलाई निरन्तरता दिँदै देशको सुरक्षा, कानुनी शासन र आप्रवासन व्यवस्थापनलाई अझ कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।