इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

आप्रवासन आप्रवासन

 

अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाही गर्न तयारी थालेको समाचार संस्था एक्सियोसले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयले आवश्यक तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमान्डलाई निर्देशन दिएको अमेरिकी अधिकारीहरूले बताएका छन् । रिपोर्टअनुसार अमेरिका र इजरायलले सम्भावित हमला नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि गर्न सक्ने सम्भावना छ । इजरायलमा हुने निर्वाचनअघि पनि हमला हुन सक्ने बताइएको छ ।

सम्भावित सैन्य कारबाहीमा इरानका ऊर्जा केन्द्र, महत्वपूर्ण पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी ठूलो हवाई हमला गर्न सकिने अधिकारीहरूले बताएका छन् । अमेरिकामा निर्वाचन नजिकिँदै गर्दा दैनिक जीवनयापनको बढ्दो खर्च मतदाताका लागि मुख्य चिन्ताको विषय बनेको छ । इरानसँगको युद्धका कारण पेट्रोलको मूल्य बढेको र त्यसको असर ढुवानी, यातायात, हवाई सेवा तथा खाद्यान्नको मूल्यमा परेको बताइएको छ ।

सोमबार सार्वजनिक गरिएको रोयटर्स–इप्सोस सर्वेक्षणअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादन प्रतिको समर्थन ३२ प्रतिशतमा रहेको छ । सेप्टेम्बरको सर्वेक्षणमा पनि उनको समर्थन ३२ प्रतिशत नै थियो । सर्वेक्षणले अमेरिकी नागरिकका लागि आगामी निर्वाचनमा मतदान गर्दा दैनिक जीवनयापनको खर्च सबैभन्दा ठूलो मुद्दा बनेको देखाएको छ ।

इरानमा सम्भावित अमेरिकी हमलाबारे अहिलेसम्म अन्तिम निर्णय सार्वजनिक भएको छैन । सम्भावित कारबाहीको समय र स्वरूपबारे प्राप्त विवरण अमेरिकी अधिकारीहरू र सञ्चारमाध्यमका रिपोर्टमा आधारित छन् ।