फ्रान्स सरकारले विद्यार्थी आन्दोलन नियन्त्रण गर्न प्रयोग गरिने स्टन ग्रिनेडको प्रयोगमा अस्थायी रोक लगाएको छ । प्रदर्शनका क्रममा १५ वर्षीय किशोरको हात चुँडिएपछि सरकारले घटनाको वास्तविकता स्पष्ट नभएसम्म यस्ता ग्रिनेड प्रयोग नगर्न प्रहरीलाई निर्देशन दिएको हो । गृह मन्त्री लरेन नुनेजले उत्तरी फ्रान्सको लेन्स सहरमा भएको घटनाबारे तथ्य स्पष्ट नभएसम्म स्टन ग्रिनेडको प्रयोग रोक्न निर्देशन दिएको बताएका छन् । घटनाबारे प्रदर्शनकारी र सरकारी अधिकारीले फरक–फरक विवरण दिएका छन् ।
लिल सहरनजिकै रहेको लेन्सको अगस्ट बेहाल माध्यमिक विद्यालयनजिकै प्रहरीको ग्रिनेड विस्फोट हुँदा किशोरको हात चुँडिएको थियो । अधिकारीहरूका अनुसार किशोरले भुईँमा रहेको ग्रिनेड उठाएका थिए र त्यसपछि विस्फोट भएको थियो । तर, विद्यार्थीहरूले भने प्रहरीले प्रहार गरेको ग्रिनेड सिधै किशोरलाई लागेको आरोप लगाएका छन् ।
स्थानीय प्रशासनका अनुसार त्यस क्षेत्रमा २०० भन्दा बढी विद्यार्थीले प्रहरीमाथि ढुंगा र पटाका प्रहार गरेका थिए । फ्रान्समा विद्यालयको अवस्था सुधार गर्न माग गर्दै विद्यार्थीहरूले थालेको प्रदर्शन देशव्यापी बनेको छ । मंगलबार राजधानी पेरिससहित विभिन्न सहरमा लाखौँ मानिस सडकमा उत्रिएका थिए । प्रदर्शनका क्रममा केही स्थानमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार मंगलबारको प्रदर्शनमा ४८८ जना पक्राउ परेका थिए भने सुरक्षाकर्मीका ४३ सदस्य घाइते भएका थिए । बुधबार पनि प्रदर्शनको प्रभाव जारी रह्यो । देशभर ५०० भन्दा बढी विद्यालय पूर्ण वा आंशिक रूपमा बन्द भएका थिए । शिक्षामन्त्री एडुआर गेफ्रेले २४ वटा विद्यालयमा आगजनी वा तोडफोड भएकाले ती विद्यालय केही सातासम्म बन्द गर्नुपर्ने अवस्था आएको बताए । यसबाट करिब ३० हजार विद्यार्थी प्रभावित हुने उनको भनाइ छ । प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले बुधबार साँझ विद्यालयमा जारी प्रदर्शनबारे सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रहरीको बल प्रयोगमाथि प्रश्न
प्रहरीको बल प्रयोगबारे अनुसन्धान गर्न प्रहरी निरीक्षण निकाय आईजीपीएनले १८ वटा अनुसन्धान सुरु गरेको गृह मन्त्री नुनेजले बताएका छन् । प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
नुनेजले फ्रान्सेली रेडियो आरटीएलसँग कुरा गर्दै लेन्सको घटना गृह मन्त्रालयभित्रै प्रश्न उठाउने विषय बनेको बताए । यसअघि गत साता पेरिसको उत्तरपश्चिममा पर्ने सेन्ट–उएन–लोमोन क्षेत्रमा १४ वर्षीय किशोरको अनुहारमा अश्रुग्यासको ग्रिनेड लागेर गम्भीर चोट लागेको थियो । उनका वकिलका अनुसार किशोरका केही दाँत झरेका छन् र बङ्गारासमेत भाँचिएको छ । घटनामा एक प्रहरी अधिकारीमाथि अभियोग लगाइएको छ ।
बुधबार स्ट्रासबर्गको एक विद्यालयबाहिर १६ वर्षीय किशोरको हातमा पनि गम्भीर चोट लागेको थियो । उनले पटाकाजस्तो विस्फोटक पदार्थ चलाउने क्रममा घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
त्यस्तै, उत्तरपूर्वी सहर बेलफोर्टमा प्रदर्शनमा सहभागी १७ वर्षीय विद्यार्थीले पक्राउ गर्ने क्रममा एक प्रहरी अधिकारीले आफ्नो टाउको नदीको पानीमा डुबाइदिएको आरोप लगाएका छन् । यसबारे प्रहरीले हत्या प्रयाससम्बन्धी अनुसन्धान सुरु गरेको छ । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार ती विद्यार्थीमाथि पनि प्रहरी अधिकारीमाथि आक्रमण गरेको आरोपमा मुद्दा चलाइएको छ ।