मादुरो र उनकी पत्नीमाथि थप अभियोग लगाउने तयारीमा अमेरिका

आप्रवासन आप्रवासन

 

भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसमाथि अमेरिकी नागरिकलाई यातना दिएको आरोपमा अमेरिकाले थप अभियोग लगाउने तयारी गरेको छ ।  सीएनएनका अनुसार, मादुरोको शासनकालमा भेनेजुएलाको हिरासतमा रहेका अमेरिकी नागरिकमाथि भएको भनिएको यातनासम्बन्धी ‘कसुर’मा नयाँ अभियोग लगाउन लागिएको हो ।

बिहीबार नै नयाँ अभियोगबारे घोषणा हुन सक्ने सीएनएनले जनाएको छ । अमेरिकी सरकारका अनुसार मादुरोको शासनकालमा एक दर्जनभन्दा बढी अमेरिकी नागरिकलाई भेनेजुएलाका जेलमा गैरकानुनी रूपमा थुनिएको थियो । अनुसन्धानकर्ताहरूले अमेरिकी नागरिकलाई यातना दिएको घटनामा संलग्न रहेको आरोपमा अन्य केही व्यक्तिमाथि पनि अभियोग लगाउने विषयमा छलफल गरिरहेको स्रोतहरूले बताएका छन् ।

मादुरो र उनकी पत्नीलाई यसअघि जनवरीमा अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासस्थित राष्ट्रपति निवासबाट पक्राउ गरेको थियो ।  उनीहरूलाई अमेरिकामा लागुऔषध आतंकवादसम्बन्धी षड्यन्त्रलगायतका अभियोग लगाइएको छ । दुवैले आफूहरूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् । उनीहरू हाल न्युयोर्कमा धरौटीबिना हिरासतमा छन् ।

फ्लोरेस बिहीबार हुने सुनुवाइमा उपस्थित हुने अपेक्षा गरिएको छ । उनका वकिलले मुद्दाको सुनुवाइअघि उनलाई घरमै नजरबन्दमा राख्न माग गर्ने तयारी गरेका छन् । मादुरोका वकिलले भने उनको गिरफ्तारीको वैधानिकतामाथि प्रश्न उठाउँदै आएका छन् ।  राष्ट्रपति पदमा रहँदा भएका भनिएका गतिविधिका आधारमा उनीमाथि मुद्दा चलाउन नमिल्ने र उनलाई राष्ट्रप्रमुखका रूपमा उन्मुक्ति प्राप्त हुनुपर्ने तर्क वकिलको छ । तर, अमेरिकी अभियोजनकर्ताका अनुसार भेनेजुएला सरकार स्वयंले मादुरोका तर्फबाट यस्तो उन्मुक्तिको दाबी गरिरहेको छैन ।

अमेरिकी नागरिकलाई यातना दिएको आरोप

मादुरो नेतृत्वको सरकारले एक दर्जनभन्दा बढी अमेरिकी नागरिकलाई हिरासतमा राखेको थियो ।  अमेरिकी अधिकारी तथा मानवअधिकारका पक्षधरहरूले ती नागरिकलाई राजनीतिक दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गरिएको आरोप लगाएका थिए । भेनेजुएलाको हिरासतबाट मुक्त भएका केही अमेरिकी नागरिकले आफूहरूमाथि भएको भनिएको यातनाबारे सार्वजनिक रूपमा बताएका छन् ।

 सन् २०२२ को अक्टोबरमा बन्दी साटासाटमार्फत रिहा भएका म्याथ्यु हिथ र उस्मान खानले दायर गरेको मुद्दामा आफूहरूलाई पानीमा डुबाएर सास रोक्ने प्रयास, करेन्ट लगाउने, यौन हिंसाको धम्की दिने, मानसिक अवस्था प्रभावित पार्ने औषधि प्रयोग गर्ने तथा लामो समय एकान्त कारावासमा राख्ने गरिएको आरोप लगाएका छन् ।

अमेरिकी नौसेनाका पूर्वसैनिक हिथले भेनेजुएलाको हिरासतमा रहेका बेला आत्महत्या गर्ने प्रयाससमेत गरेका थिए । त्यस्तै, ‘सिटगो सिक्स’ भनेर चिनिने अमेरिकी तेल कम्पनीका छ जना कार्यकारीले पनि भेनेजुएलामा आफूहरूले कठोर हिरासतको अवस्था भोग्नुपरेको बताएका छन् । उनीहरूलाई सन् २०१७ मा भेनेजुएला बोलाएर पक्राउ गरिएको थियो । त्यसपछि उनीहरू करिब पाँच वर्ष हिरासतमा रहेका थिए ।

तीमध्ये टोमेउ भाडेल, अलिरियो जोसे जाम्ब्रानो र जोसे लुइस जाम्ब्रानोले आफ्ना रोजगारदाता कम्पनी सिटगोविरुद्ध दायर गरेको मुद्दामा जेलमा आफूहरूमाथि यातना दिइएको आरोप लगाएका थिए ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा पनि यातनाको उल्लेख

हिरासतमा रहेका अमेरिकी नागरिकलाई भेनेजुएलाको सैन्य प्रतिगुप्तचर महानिर्देशनालय (डीजीसीआईएम) मा राखिएको थियो । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले उक्त निकायलाई राजनीतिक विरोधी र उनीहरूका परिवारका सदस्यलाई मनपरी पक्राउ गर्ने, दुव्र्यवहार गर्ने तथा यातना दिने कार्यमा संलग्न रहेको आरोप लगाएको थियो ।

प्रतिवेदनअनुसार उक्त निकायले बन्दीबाट सूचना र बयान प्राप्त गर्न, उनीहरूलाई त्रसित बनाउन तथा सजाय दिन विभिन्न प्रकारका यातना प्रयोग गर्ने गरेको थियो ।

तीमध्ये करेन्ट लगाउने, प्लास्टिकका झोलाले सास रोक्ने, पानीमा डुबाएर सास फेर्न नदिने, कुटपिट गर्ने, यौन हिंसा गर्ने, पानी र खाना नदिने, असहज शारीरिक अवस्थामा लामो समय राख्ने तथा अत्यधिक गर्मी वा चिसोमा राख्नेजस्ता अभ्यास उल्लेख छन् ।

मादुरो र फ्लोरेसका वकिलसँग सीएनएनले प्रतिक्रिया मागेको भए पनि समाचार प्रकाशित हुँदासम्म उनीहरूको प्रतिक्रिया प्राप्त भएको थिएन । नयाँ अभियोग लगाइएमा मादुरो र उनकी पत्नीले सामना गरिरहेका कानुनी चुनौती थप जटिल बन्नेछन् । यद्यपि, उनीहरूमाथि लगाइएका यातनासम्बन्धी आरोपको न्यायिक निरूपण हुन बाँकी नै छ ।