ओमानमा पछिल्लो समय गर्मी तीव्र रूपमा बढेपछि त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै मस्कटस्थित नेपाली राजदूतावासले विशेष स्वास्थ्य सतर्कता (Health Advisory) जारी गरेको छ। मरुभूमि क्षेत्रमा तापक्रम अत्यधिक बढ्दा लु (Heat Stroke) लाग्ने र जलवियोजन (Dehydration) हुने जोखिम बढेकाले दूतावासले सबै नेपालीहरूलाई सचेत रहन आग्रह गरेको हो।
राजदूतावासले नेपाली कामदारहरूका लागि जारी गरेका मुख्य स्वास्थ्य निर्देशनहरू निम्न बमोजिम छन्स्
१. प्रशस्त पानी र तरल पदार्थको सेवन
गर्मीमा शरीरबाट पसिना धेरै निस्कने भएकाले दैनिक कम्तीमा २ देखि ३ लिटर पानी पिउनु अनिवार्य छ। कफी र मदिरा जस्ता पेय पदार्थले शरीरमा पानीको मात्रा झनै घटाउने (Dehydrated बनाउने) हुँदा यस्ता पदार्थको सेवन नगर्न दूतावासले सुझाव दिएको छ।
२. पोशाकमा ध्यान दिनुहोस्
गर्मीबाट बच्न सूती (Cotton)का हल्का र सेतो वा हल्का रङ्गका कपडाहरू मात्र लगाउनुहोस्। सेतो रङ्गले सूर्यको प्रकाशलाई परावर्तन गर्ने भएकाले शरीरलाई शीतल राख्न मद्दत पुग्छ।
३. मध्याह्नको समयमा बाहिर ननिस्कनुहोस्
दिनको सबैभन्दा तातो समय अर्थात् बिहान ११:०० देखि दिउँसो ४:०० बजेसम्म अत्यावश्यक कामबाहेक घर वा कार्यस्थलबाट बाहिर ननिस्कन आग्रह गरिएको छ। यदि बाहिर निस्कनै परेमा अनिवार्य रूपमा छाताको प्रयोग गर्न भनिएको छ।
४. घामबाट छाला र आँखाको सुरक्षा
सूर्यको हानिकारक यूभी (UV) किरणहरूबाट बच्नका लागि टोपी, गुणस्तरीय चस्मा र सनस्क्रिनको प्रयोग गर्न कामदारहरूलाई सल्लाह दिइएको छ।
५. एक्कासि चिसो पानीको प्रयोग नगर्नुहोस्
अत्यधिक गर्मीबाट आउनासाथ तुरुन्तै एकदमै चिसो पानीले नुहाउनु वा फ्रिजको पानी पिउनु स्वास्थ्यका लागि घातक हुन सक्छ। घामबाट आएपछि केही समय आराम गरेर शरीरको तापक्रम सामान्य भएपछि मात्र मनतातो पानीले नुहाउनु उपयुक्त हुन्छ।
६. मौसमको जानकारी र पूर्वतयारी
नियमित रूपमा स्थानीय सञ्चारमाध्यम वा आधिकारिक एपहरूबाट मौसमको जानकारी लिइरहन र अत्यधिक गर्मीको समयमा अपनाउनुपर्ने सुरक्षा मापदण्डहरू पालना गर्न दूतावासले सबैमा अनुरोध गरेको छ।
ओमानमा कार्यरत नेपालीहरूको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै दूतावासले स्वास्थ्यमा कुनै पनि समस्या देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत आग्रह गरेको छ।