कम्बोडियाले ल्यायो ५ लाख डलर जरिवाना र आजीवन कैद सजाय हुने कानुन, नेपाली दूतावासले निकाल्यो जरुरी सूचना

आप्रवासन आप्रवासन

कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ लगायतका अवैध गतिविधि नियन्त्रण गर्न कडा कानुन लागू गरेसँगै बैंककस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूका लागि जरुरी सूचना जारी गरेको छ।

नयाँ कानुनअनुसार अनलाइन स्क्यामिङ जस्ता अन्तरदेशीय अपराधमा संलग्न हुनेलाई ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था गरिएको छ। कम्बोडिया सरकारले गत हप्तादेखि यो कानुन कार्यान्वयनमा ल्याउँदै अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने र त्यसमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको छ। यसै सन्दर्भमा दूतावासले कम्बोडियामा पर्यटकीय भिसामा गएर अवधि सकिएपछि पनि बसिरहेका र अवैध स्क्यामिङ केन्द्रहरूमा काम गरिरहेका नेपालीहरूलाई तुरुन्त त्यस्ता कार्य बन्द गरी नेपाल फर्कन कडा निर्देशन दिएको छ।

दूतावासले धेरै नेपाली नागरिकहरू उच्च तलब र आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडिया पुग्ने र पछि ठगी धन्दामा फस्ने गरेको जानकारी प्राप्त भएको जनाएको छ। दूतावासले पर्यटकीय भिसामा गएर रोजगारी गर्नु गैर कानुनी भएको भन्दै वैदेशिक रोजगारीका लागि जानुअघि अनिवार्य रूपमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिन र सम्बन्धित राजदूतावासमार्फत रोजगारदाता संस्थाको आधिकारिकता यकिन गर्न पुनः अनुरोध गरेको छ।

कम्बोडियामा रहेका नेपालीहरूको वास्तविक अवस्था बुझ्न र उनीहरूलाई स्वदेश फिर्तीमा सहजीकरण गर्न दूतावासले एउटा अनलाइन फाराम समेत सार्वजनिक गरेको छ। दूतावासले कम्बोडियामा रहेका नेपालीहरूलाई उक्त फाराम भर्न र कोही अप्ठ्यारोमा परेको भए तुरुन्त राजदूतावास वा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा जानकारी गराउन आग्रह गरेको छ। यसका साथै प्रलोभनमा पारेर कम्बोडिया पुर्‍याउने व्यक्ति वा एजेन्टहरू विरुद्ध नेपाल फर्किएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिन समेत दूतावासले सूचित गरेको छ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६४०४ जना तथा सन् २०२५ मा ९६७ट जना नेपालीहरू कम्बोडिया गएको देखिन्छ। कम्बोडियामा नेपालीहरू समस्यामा पर्ने क्रमसमेत बढेको छ। सोहीअनुसार दूतावासले अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाइन ठगी तथा अन्य विभिन्न गैर कानुनी काममा लगाइएका नेपालीको उद्धार समेत गर्दै आएको छ।