कम्बोडिया, थाइल्यान्ड, म्यानमार र लाओसमा अनलाइन ठगीमा परी उद्धार भएर नेपाल आएकाले नै अरूलाई त्यता पठाउन सक्रिय रहने गरेको पाइएको छ । ती मुलुकमा राम्रो काम लगाइदिने बहानामा भिजिट भिसामा लैजाने र त्यहाँ अवैधानिक रूपमा खुलेका अनलाइन केन्द्रमा नेपाली नागरिकलाई बन्धक बनाएर काम लगाउने गरेको पाइएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अवैध रूपमा ती देशमा नेपाली नागरिक ओसारपसार गर्नेमा उद्धार भई फर्किआएकासमेत संलग्न रहेको पाइएको छ । उद्धार भएकाले गरेको उजुरीका आधारमा पक्राउ परेकामध्ये केहीले आफू पहिले त्यसरी नै त्यहाँ पुगेको बयान दिएको जानकारी उहाँले दिनुभयो । दुई वर्षयता करिब ३५ जनालाई पक्राउ गरी मुद्दा चलाउने र कसुर ठहरिएकालाई कारागारसमेत चलान गरिएको छ । यस्तै अवैध रूपमा काममा लगाएर फसाइएका ६१२ जना नेपाली नागरिकको सरकारले पछिल्लो समय उद्धार गरेको छ । अझै उद्धारको क्रम जारी छ । कहाँ कति छन् भन्ने यकिन नभए पनि सम्पर्कमा आउने दिनानुदिन बढ्दै गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तो कसुरमा पाँच जनालाई मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरोले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२१ यता झन्डै २१ हजार नेपाली नागरिक ती क्षेत्रमा भिजिट भिसामा पुगेको अनुमान छ ।
ती कसरी र केका लागि त्यहाँ पुगे अनि कहाँ के गर्दै छन् भन्ने खोजीको विषय रहेको उहाँले बताउनुभयो । साथै सरकारले गैरआवासीय नेपाली सङ्घ र त्यहाँको सरकारसँगको समन्वयमा हालसम्म ६१२ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काएको छ । जसमध्ये सबैभन्दा बढी कम्बोडियाबाट ४८७, म्यानमारबाट १११, लाओसबाट आठ र थाइल्यान्डबाट छ जनाको उद्धार भएको मन्त्रालयका सहसचिव रामकाजी खड्काले जानकारी दिनुभयो । अझै ५३ जनालाई स्वदेश फर्काउनका लागि कागजपत्र बनाउने प्रक्रियामा रहेको बताउँदै उहाँले बताउनु भएको छ ।
कसैले भनेकै भरमा त्यसरी जाँदा भविष्यमा समस्या पर्ने भएकाले बुझेर मात्र जानका लागि आमसर्वसाधारणलाई मन्त्रालयले अपिल गरेको छ । थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासका अनुसार विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र जस्ता विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिनाभिसा बसिरहेका नेपाली अझै धेरै रहनुभएको छ ।
कम्बोडियाको पर्यटनसम्बन्धी पछिल्लो तथ्याङ्क अनुसार सन् २०२२ मा एक हजार ९९९, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ र सन् २०२५ मा झन् बढी नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेको देखिएको छ । नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान भनिएको छ । प्रहरीले विदेशस्थित कूटनीतिक दूतावासमार्फत सर्च अपरेसन चलाइरहेको र सचेतना कार्यक्रम सञ्चालन गरिरहेको ब्युरोले जनाएको छ ।