लेबर, कन्जरभेटिभ, लिबरल डेमोक्र्याट, ग्रिन तथा जेरेमी कोर्बिन नेतृत्वको योर पार्टीबाट समेत उम्मेदवारी परेकाले नेपाली मूलका उम्मेदवारको संख्या डेढ दर्जनभन्दा बढी पुगेको हो । चुनावमा लन्डनको रोयल बरो अफ ग्रीनवीचमा पूर्व मेयर जीत रानाभाट प्लमस्टिड एण्ड ग्लिन्डन वार्डबाट उम्मेदवार छन् । उनकी पत्नी गौमाया गुरुङ सोही बरोकै एबिउड वार्डबाट उम्मेदवार बनेकी छन् । उनीहरू दुवै लेबर पार्टीका हुन् ।
यसैगरी कतिपय क्षेत्रमा नेपाली मूलका उम्मेदवारबिच नै प्रतिस्पर्धा भइरहेको छ । पूर्व मेयर रानाभाट उम्मेदवार रहेको प्लमस्टिड एण्ड ग्लिन्डन वार्डमा लेबरका पूर्व नेता जेरेमी कोर्बिन नेतृत्वको योर पार्टीको समर्थनमा नरेन्द्र कंडेल पनि चुनावी मैदानमा छन् । त्यस्तै, अल्डरसटको वेलिङटन वार्डमा कन्जरभेटिभ पार्टीबाट डा. विशाल गुरुङ र लेबर पार्टीबाट उत्तरबहादुर गुरुङ उम्मेदवार छन् । यी दुवै वार्डमा तीन–तीन जना काउन्सिलर निर्वाचित हुने भएकाले प्राविधिक रूपमा नेपाली मूलका दुवै उम्मेदवार निर्वाचित हुने सम्भावना रहन्छ । तर, मत विभाजन भएमा एक उम्मेदवार विजयी हुँदा अर्को पराजित हुने जोखिम पनि उत्तिकै छ । पूर्व डीएसपी शिवजी श्रेष्ठ लेबर पार्टीबाट बेजिङस्टकको ब्राइटनहिल वार्डमा चुनावी मैदानमा छन् । ज्ञानप्रसाद गुरुङ कन्जरभेटिभ पार्टीबाट स्विन्डनको पार्क साउथमा उम्मेदवार बनेका छन् ।
त्यस्तै, प्रतीक्षा गुरुङ लेबर पार्टीबाट रिडिङको ब्याटल वार्डमा उम्मेदवार छिन् भने इन्द्राहाङ लिम्बु फेलथाममा कन्जरभेटिभ उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन् । पूर्व काउन्सिलर तथा ग्रेटर रसमोर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष जीव नारायण बेल्वासे पनि दोस्रोपटक काउन्सिलर पदका लागि चुनावी मैदानमा उत्रिएका छन् । बेलायतमा नेपाली जनसंख्या उल्लेख्य रहेको रसमोर बरोअन्तर्गत म्यानोर पार्क वार्डबाट उनी कन्जरभेटिभ पार्टीका उम्मेदवार बनेका हुन् । बेल्वासे विगत २५ वर्षदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएका छन् ।
बेलायतको स्थानीय निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस सुरु गराएको छ । रिफर्म यूकेको उदय, लेबरको अपेक्षाकृत कमजोर प्रदर्शन र कन्जरभेटिभको निरन्तर दबाबबीच यो निर्वाचन बेलायती राजनीतिक परिदृश्यका लागि महत्वपूर्ण मानिएको छ । यसै निर्वाचन अन्तर्गत बिहीबार राति १० बजेसम्म मतदान सम्पन्न भएपछि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार नाइजेल फराज नेतृत्वको रिफर्म यूकेले बलियो अग्रता बनाएको छ ।
हालसम्म प्राप्त नतिजाअनुसार रिफर्म यूकेले ३९४ सिट जितेको छ । सत्तारुढ लेबर पार्टी २५५ सिटसहित दोस्रो स्थानमा छ भने कन्जरभेटिभ पार्टीले २५३ र लिबरल डेमोक्र्याटले २४४ सिट प्राप्त गरेका छन् ।
मतगणना अझै जारी रहेको र अन्तिम परिणाम आज रातिसम्म आउने अनुमान गरिएको छ । प्रारम्भिक नतिजाले प्रधानमन्त्री केयर स्टारमर नेतृत्वको सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का पुग्ने संकेत गरेको छ । स्टारमरले लेबर पार्टीको सुरुवाती हारको जिम्मेवारी लिएका छन् । उता, रिफर्म यूकेका नेता नाइजेल फराजले पूर्वी लन्डनमा पत्रकारहरूसँग कुरा गर्दै इंग्ल्याण्डको प्रारम्भिक नतिजाले वास्तविक ऐतिहासिक परिवर्तन देखाएको बताएका छन् । उनलाई पार्टी समर्थकहरूले न्यानो स्वागत गरेका थिए । स्कटल्याण्ड र वेल्समा भने मतगणना स्थानीय समयअनुसार बिहान ९ बजेपछि सुरु हुँदैछ । स्कटल्याण्ड र वेल्सका मतदाताले आफ्नो राष्ट्रिय संसदका लागि प्रतिनिधि चयन गर्नेछन् भने इंग्ल्याण्डका विभिन्न काउन्सिलमा काउन्सिलर तथा मेयर चयन हुनेछन् ।