रिपोर्टअनुसार साउदी हवाई सेनाले मार्च अन्त्यतिर इरानभित्र विभिन्न स्थानमा प्रतिआक्रमण गरेको थियो । ती आक्रमणहरू यसअघि सार्वजनिक गरिएका थिएनन् । स्रोतहरूका अनुसार यो कदम साउदी भूमिमा भएका इरानी आक्रमणको जवाफी कारबाहीका रूपमा गरिएको थियो ।यदि दाबी सही ठहरिएमा यो साउदी अरबले प्रत्यक्ष रूपमा इरानी भूमिमा सैन्य कारबाही गरेको पहिलो ज्ञात घटना हुनेछ । यसले आफ्नो प्रमुख क्षेत्रीय प्रतिद्वन्द्वी विरुद्ध साउदी अरेबिया थप आक्रामक बन्दै गएको सङ्केत गरेको विश्लेषण गरिएको छ ।
रिपोर्टमा आक्रमणको लक्ष्य के थियो भन्ने स्पष्ट उल्लेख छैन । साउदी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले प्रत्यक्ष रूपमा आक्रमण भएको पुष्टि नगरे पनि क्षेत्रीय तनाव कम गर्नुपर्ने आफ्नो पुरानो नीतिमा कायम रहेको बताएका छन् । यो युद्ध अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण सुरु गरेपछि चर्किएको बताइएको छ । त्यसपछि इरानले खाडी सहयोग परिषद्अन्तर्गतका सबै ६ राष्ट्रमा मिसाइल तथा ड्रोन आक्रमण गरेको रिपोर्टमा उल्लेख छ । इरानले अमेरिकी सैन्य अड्डा, विमानस्थल, तेल पूर्वाधार र नागरिक क्षेत्रलाई समेत निशाना बनाएको तथा स्टेट अफ होर्मुज बन्द गरेर विश्व व्यापार प्रभावित पारेको जनाइएको छ ।
यसैबिच संयुक्त अरब इमिरेट्सले पनि इरानविरुद्ध सैन्य कारबाही गरेको दाबी गरिएको छ । यसले खाडी क्षेत्रका राष्ट्रहरू अब प्रतिरक्षात्मक अवस्थामा मात्र नभई प्रत्यक्ष जवाफी आक्रमणमा समेत उत्रिएको सङ्केत गरेको विश्लेषण गरिएको छ । यद्यपि, साउदी अरबले सार्वजनिक रूपमा तनाव बढ्न नदिन कूटनीतिक सम्पर्क कायम राखेको बताइएको छ । रिपोर्टअनुसार रियाद र तेहरानबिच राजदूतस्तरमा नियमित संवाद जारी छ ।