क्युबाको ऊर्जा सङ्कट झन् गम्भीर बन्दै

आप्रवासन आप्रवासन

 

क्युबाको गम्भीर ऊर्जा सङ्कट अझ खराब हुने चेतावनी दिइएको छ । क्युबाका ऊर्जा तथा खानी मन्त्री भिसेन्टे डेलाओ लेभीले त्यस्तो चेतावनी दिएका हुन् । उनले रुसबाट सहयोग स्वरूप प्राप्त तेल सकिएको र देशमा डिजेल तथा इन्धन तेलको मौज्दात लगभग समाप्त भएको बताएका छन् ।  

सरकारी टेलिभिजनमा सम्बोधन गर्दै मन्त्री लेभीले भने, ‘स्थिति अत्यन्त तनावपूर्ण छ, मौसम झन् तातिँदै गएको छ ।’ क्युबामा गर्मीयाम सुरु भएसँगै विद्युत् माग बढ्ने भएकाले सङ्कट अझ चर्किने अनुमान गरिएको हो । सरकारी अधिकारीहरूका अनुसार मार्च अन्त्यमा रुसबाट प्राप्त तेल सहयोग मे महिनाको सुरुमा नै सकिएको थियो । त्यसयता देशभर दैनिक लामो समयसम्म विद्युत् कटौती भइरहेको छ । राजधानी हवानामा अहिले दैनिक २० देखि २२ घण्टासम्म ब्ल्याक आउट भइरहेको मन्त्री लेभीले बताए ।

ऊर्जा सङ्कटका कारण नागरिकहरूले मोबाइल फोन, इलेक्ट्रिक स्कुटरजस्ता उपकरण चार्ज गर्नसमेत समस्या भोगिरहेका छन् । धेरै मानिस रातको बीचमा केही समय मात्रै बिजुली आउने बेला कपडा धुने र खाना पकाउने काम गर्न बाध्य छन् । क्युबाले अहिले सीमित घरेलु कच्चा तेल, प्राकृतिक ग्यास र सौर्य ऊर्जामा भर पर्नुपर्ने अवस्था आएको छ । मन्त्री लेभीले चीनले उपलब्ध गराएका सौर्य प्यानलमार्फत केही राहत मिलेको बताए पनि ब्याट्री अभाव र मौसमका कारण विद्युत उत्पादन स्थिर नरहेको स्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जनवरीदेखि क्युबामाथि थप कडा आर्थिक तथा ऊर्जा प्रतिबन्ध लगाएपछि भेनेजुएला र मेक्सिकोबाट हुने तेल आपूर्ति लगभग बन्द भएको बताइएको छ । क्युबाले यसलाई ‘अमेरिकी तेल नाकाबन्दी’ भनेको छ ।  यसैबिच अमेरिकी विदेश मन्त्रालयले बुधबार क्युबालाई ‘राजनीतिक तथा आर्थिक सुधार’ लागू गरेमा १० करोड डलर सहायता दिन तयार रहेको जनाएको छ । क्युबाली सरकारले भने अमेरिकी दबाबको कडा विरोध गर्दै कुनै पनि हस्तक्षेपको प्रतिरोध गर्ने बताएको छ ।