नयाँ पुस्तकको दाबी : नायिकालाई म्यासेज पठाएपछि राष्ट्रपति म्याक्रोँलाई पत्नीको थप्पड !

आप्रवासन आप्रवासन

पेरिस म्याचका पत्रकार फ्लोरियन टार्डिफले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र उनकी पत्नी ब्रिगिट म्याक्रोँको सम्बन्धका बारेमा लेखेको पुस्तक ‘अन कपल (प्रेस्क) पर्फेक्ट’ बुधबार सार्वजनिक भएपछि फ्रान्समा नयाँ बहस सुरु भएको छ। 

यस पुस्तकले राष्ट्रपति म्याक्रोँ र इरानी अभिनेत्री गोल्शिफ्ते फराहानीबिचको प्रेम सम्बन्धको हल्लालाई फेरि ब्युँताइदिएको छ। पुस्तकका लेखक टार्डिफका अनुसार गत मे महिनामा भियतनाम भ्रमणका क्रममा ब्रिगिटले म्याक्रोँलाई हानेको भनिएको थप्पडको सम्बन्ध यही कथित प्रेम सम्बन्धसँग जोडिएको छ।

आरटीएलसँग कुरा गर्दै पत्रकार टार्डिफले म्याक्रोँ र गोल्शिफ्ते फराहानीबिच ‘एक प्लेटोनिक सम्बन्ध’ रहेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘मलाई उनीहरूका निकटस्थहरूले बारम्बार यही कुरा भनेका छन्।’ 

टार्डिफका अनुसार राष्ट्रपतिले अभिनेत्रीलाई ‘तिमी धेरै राम्री छौ’ भन्ने सन्देश पठाएका थिए। यही म्यासेजका कारण दम्पतीबिच तनाव उत्पन्न भएको र हनोईमा विमानबाट ओर्लिनुअघि ब्रिगिटले म्याक्रोँलाई थप्पड हानेको दाबी पुस्तकमा गरिएको छ। 

यद्यपि ब्रिगिट म्याक्रोँका निकटस्थहरूले ले पारिसियन पत्रिकासँगको कुराकानीमा यसको औपचारिक खण्डन गरेका छन्। ब्रिगिटले मार्च ५ मा सिधै लेखकलाई भेटेर यो कथाको खण्डन गर्दै आफूले कहिल्यै श्रीमानको मोबाइल फोन चेक नगर्ने स्पष्ट पारेकी थिइन्।

यता इरानी अभिनेत्री गोल्शिफ्ते फराहानीले पनि यो हल्लाको विषयमा फ्रान्सेली सञ्चारमाध्यममा आफ्नो धारणा राखेकी छन्। सामाजिक सञ्जाल एक्समा इरानी प्रयोगकर्ताहरूले यो हल्ला फैलाउन थालेपछि उनले भनिन्, ‘यस्ता हल्लाहरू आउँछन् र जान्छन्, म हेरिरहन्छु, म के गर्न सक्छु र? यसले मलाई रिस पनि उठाउँदैन, यसको के अर्थ छ र?’ 

उनले मानिसहरू किन यस्तो कथामा चासो राख्छन् भन्ने प्रश्न गर्दै मानिसहरूमा प्रेमको अभाव भएकाले यस्ता रोमान्टिक कथाहरू बनाएर पूर्ति गर्न खोज्ने टिप्पणी गरेकी छन्। 

सन् २००८ देखि फ्रान्समा शरणार्थीको रूपमा बस्दै आएकी फराहानीले आफू लामो समयदेखि पेरिसभन्दा टाढा भ्यानकुभर र अमेजन क्षेत्रमा रहेकाले म्याक्रोँसँगको सामीप्यको हल्ला निराधार रहेको बताएकी छन्। 

फिल्म ‘बडी अफ लाइज’ मा भूमिका निभाएपछि इरानमा उत्पीडनमा परेर फ्रान्स पुगेकी उनी लामो समयदेखि इरानी महिलाहरूको स्वतन्त्रताका लागि वकालत गर्दै आएकी छन्।