स्वास्थ्य अधिकारीहरूका अनुसार ती व्यक्तिमा हल्का लक्षण देखिएको छ । ब्रिटिस कोलम्बियाकी प्रमुख स्वास्थ्य अधिकारी बोनी हेनरीले सङ्क्रमितसहित चारै जना क्यानडा फर्किएपछि सार्वजनिक सम्पर्कमा नगएको बताएकी छन्।
यससँगै उक्त जहाजसँग सम्बन्धित सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । तीमध्ये तीन जनाको मृत्यु भइसकेको छ भने दुई जनामा हान्टाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य अधिकारीहरूले शुक्रबार आएको परीक्षण नतिजालाई “प्रिजम्प्टिभ पोजिटिभ” अर्थात् प्रारम्भिक रूपमा सकारात्मक भनिएको बताएका छन् । अन्तिम पुष्टि भने राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालाले गर्नेछ । बोनी हेनरीले भनिन्, “यो हामीले आशा गरेको अवस्था होइन, तर हामीले यसका लागि तयारी गरेका थियौँ ।” उनले हान्टाभाइरसलाई कोभिड–१९, इन्फ्लुएन्जा वा दादुराजस्ता सजिलै फैलिने श्वासप्रश्वाससम्बन्धी भाइरसभन्दा फरक रहेको उल्लेख गर्दै यसको महामारी फैलाउने सम्भावना नरहेको बताइन् ।
क्यानडाका कुल ६ जना यात्रु उक्त डच जहाजमा सवार थिए । तीमध्ये दुई जना ओन्टारियोमा घरमै आइसोलेसनमा छन् भने अन्य दुई जोडी भ्यान्कुभर टापुमा अलग्गै बसिरहेका छन् । सङ्क्रमित व्यक्ति युकोनका बासिन्दा हुन् । हालसम्म बाँकी पाँच जनामा सङ्क्रमण पुष्टि भएको छैन ।