भारतीय मुद्राको भाउ सोमबार अहिलेसम्मकै न्यून स्तरमा ओर्लिएको छ । इरान युद्धका कारण विश्व बजारमा कच्चा तेलको भाउ आकासिएर विश्वव्यापी बन्ड प्रतिफल बढेको अवस्थामा लगानीकर्तामा जोखिमयुक्त सम्पत्तिमा रुचि घटेको र तेस्रो ठुलो इन्धन आयातकर्ता देश भारतको आर्थिक अवरोध झनै गहिरो बनेपछि स्थानीय मुद्रा दबाबमा आएको हो ।
बिहानी कारोबारमा प्रति डलर भारुको मूल्य शून्य दशमलव ३ प्रतिशतले कमजोर हुँदै ९६ रुपैयाँ २२७५ पैसामा झरेको थियो । यसले यसअघिको ऐतिहासिक न्यून स्तरलाई समेत पार गरेको हो । यसअघि भारु डलर विनिमय दर ९६ रुपैयाँ १३५० पैसाको कीर्तिमानी न्यून स्तरमा थियो । इरान युद्ध सुरु भएयता भारत लगायत तेल निर्यातमा निर्भर एसियाली देशका मुद्राहरू दबाबमा छन् । भारु सन् २०२६ मा एसियाकै कमजोर प्रदर्शन गर्ने मुद्राका रूपमा रहेको छ । योसँगै भारतीय रुपैयाँ लगातार पाँचौँ कारोबार दिन पनि न्यून स्तरमा झरेको छ ।
व्यापारीहरूका अनुसार भारतीय केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इन्डिया (आरबीआई) ले डलर बिक्रीमार्फत हस्तक्षेप नगरेको भए रुपैयाँको गिरावट अझ तीव्र हुने थियो । बजारमा हस्तक्षेपसँगै भारतीय नीति निर्माताहरूले रुपैयाँलाई समर्थन गर्न दुर्लभ नियामकीय कदमसमेत चालेका छन् । हालै अधिकांश चाँदी आयातमा प्रतिबन्ध लगाउने निर्णय पनि त्यसैको हिस्सा रहेको बताइएको छ ।
इरान युद्ध सुरु भएयता भारतीय रुपैयाँ करिब ५ दशमलव ५ प्रतिशतले कमजोर भइसकेको छ । तेलको मूल्य लामो समय उच्च रहने सम्भावना देखिएकोले सन् २०२६ को मध्यसम्म भारतीय रुपैयाँ प्रतिडलर ९६ र वर्षको अन्त्यसम्म ९८ पुग्न सक्ने बीअफए ग्लोबल रिसर्चका विश्लेषकहरूले एउटा नोटमा भनेका छन् । विश्लेषकहरूका अनुसार आर्थिक वृद्धिसम्बन्धी जोखिमले सेयर बजारमा विदेशी लगानी फर्किने सम्भावना कमजोर बनाएको छ । साथै, न्यून प्रतिफल, उच्च हेजिङ लागत, बढ्दो वित्तीय घाटा र ब्याजदर वृद्धिको चिन्ताले ऋण बजारमा विदेशी लगानी घटाउने जोखिम पनि बढाएको छ । मार्चयता विदेशी लगानीकर्ताले भारतीय सेयर तथा ऋणपत्र बजारबाट २३ अर्ब ५० करोड डलरभन्दा बढी रकम फिर्ता लगिसकेका छन् ।