कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव नेपाल ल्याउनका लागि समस्या उत्पन्न भएको परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन् । धादिङको धुनीवेशी नगरपालिका–९ स्थित जुगेडी निवासी ४२ वर्षीय राई गत वर्ष भदौमा अवैधानिक रूपमा भारतको बाटो हुँदै कम्बोडिया पुगेका थिए । तर वैशाख २९ गते उपचारको क्रममा काल्मेट अस्पतालमा ‘हेमोरेजिक स्ट्रोक’ मस्तिष्क रक्तस्रावका कारण मृत्यु भएको थियो ।
कमजोर आर्थिक अवस्था र कानुनी झन्झटका कारण शव नेपाल ल्याउन नसकेको भन्दै मृतकका श्रीमती जुनु राईले सहयोग गरिदिन हारगुहार गरेकी थिइन् । यसै विषयमा रातोपाटीले परराष्ट्र मन्त्री खनालसँग जानकारी दिएको थियो । जवाफमा उनले परराष्ट्र मन्त्रालयमार्फत शव नेपाल ल्याउन सहजीकरण भइरहेको तर अवैधानिक रूपमा गएका हुनाले समस्या आइरहेको बताए ।
‘यसमा अस्तिदेखि परराष्ट्र मन्त्रालयले सहजीकरण गरिराखेको छ। परराष्ट्रमा यस्तो छुट्टै कोष छैन। वैद्य श्रम स्वीकृति लिएर गएको अवस्थामा वैदेशिक रोजगार कोषबाट हुन्थ्यो । भिजिट भिजामा अवैध तरिकाले गएको हकमा नेपाल सरकारसँग हालसम्म कुनै कोषको व्यवस्था छैन। परिवारले वा एनआरएनको सहयोगमा गर्ने गरिएको र हाल पनि एनआरएनएसँग सहयोग मागिएको अवस्था हो’, उनले भने ।
६ दिनदेखि राईको शव कम्बोडियाको अस्पतालमा अलपत्र हुँदा मृतकका परिवार थप पीडामा परेका छन् । कम्बोडियासमेत हेर्ने थाइल्यान्डस्थित नेपाली राजदूतावासले प्रवेशाज्ञाको अवधिभन्दा बढी कम्बोडियामा बसिरहेका राईलाई ‘ओभर स्टे फाइन’ कम्बोडिया सरकारबाट माफी गराई वैशाख ३० गते घर फर्काउने तयारी भएकै बेला यो घटना भएको बताएको छ । उनी बिरामी भएकै बेला दूतावासले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो ।