मालीको मध्य भाग सान क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा १० जना सर्वसाधारणको मृत्यु भएको छ । पीडितहरू एक वैवाहिक समारोहको तयारीमा रहेका बेला आक्रमण भएको स्थानीय र सुरक्षा स्रोतहरूले बताएका छन् ।
यो घटना देशमा बढ्दो सुरक्षा सङ्कटबिच भएको हो । पछिल्लो महिना सशस्त्र समूहहरूले सरकारका सैन्य पोस्टहरूमा ठुला हमला गरेपछि द्वन्द्व झनै चर्किएको बताइएको छ । स्रोतहरूका अनुसार आक्रमणको जिम्मा सरकारी सेनाले चलाएको ड्रोन समूहले लिएको छ । स्थानीय बासिन्दाका अनुसार सो आक्रमणबाट टेने क्षेत्रमा बालबालिकासहित १० जना मारिएका छन् ।
एक सुरक्षा स्रोतका अनुसार ड्रोनहरूले मोटरसाइकलमा यात्रा गरिरहेको समूहलाई लक्षित गरेका थिए, जसले उनीहरूको ध्यान खिचेको हुनसक्ने अनुमान गरिएको छ । स्थानीय अधिकारीहरूले पनि करिब १० जनाको मृत्यु भएको पुष्टि गर्दै उक्त घटना विवाहको तयारीकै क्रममा भएको बताएका छन् । मालीमा पछिल्लो समय सुरक्षा अवस्था अत्यन्तै बिग्रिएको छ ।
जमात नुसरत अल–इस्लाम वाल–मुस्लिमीन र तुआरेग पृथकतावादी समूह अजवाद लिबरेशन फ्रन्टबिच सहकार्य भएपछि हिंसा झनै बढेको हो । अप्रिल २५ र २६ मा भएको आक्रमणमा रणनीतिक सहरहरू निशाना बनाइएका थिए र देशका रक्षामन्त्रीको समेत मृत्यु भएको थियो । विश्लेषकहरूका अनुसार विद्रोही समूहहरूले उत्तरी सहरहरू नियन्त्रणमा लिएर राजधानी बामाकोतर्फ नाकाबन्दीसमेत कडा बनाएका छन् । जसले देशको सैन्य सरकारमाथि थप दबाब सिर्जना गरेको छ ।