भारतलाई अपाचे हेलिकप्टर र एम७७७ तोप बेच्न अमेरिकाको स्वीकृति

आप्रवासन आप्रवासन

 

भारत र अमेरिकाबीचको रक्षा सहयोग थप सुदृढ बन्दै गएको छ । यसै क्रममा अमेरिकाले भारतलाई अपाचे हेलिकप्टर र एम७७७एटू अल्ट्रा–लाइट हाउविट्जर तोपका लागि समर्थन सेवा तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले आधिकारिक रूपमा यस निर्णयको घोषणा गरेको हो ।

अमेरिकाका अनुसार अपाचे हेलिकप्टरका लागि समर्थन सेवा सम्झौताको अनुमानित मूल्य करिब १९ करोड ८२ लाख अमेरिकी डलर रहेको छ । एम७७७एटू अल्ट्रा–लाइट हाउविट्जरका लागि दीर्घकालीन समर्थन सम्झौता करिब २३ करोड अमेरिकी डलर बराबरको हुन सक्ने बताइएको छ ।

अपाचे हेलिकप्टर समर्थन सम्झौताका लागि बोइङ र लकहिड मार्टिन प्रमुख कम्पनी रहनेछन् । यस्तै, ब्रिटिश रक्षा कम्पनी बीएई सिस्टम्सलाई एम७७७ हाउविट्जर समर्थन कार्यक्रमको मुख्य ठेकेदार तोकिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार भारतले एएच–६४ई अपाचे हेलिकप्टरका लागि इन्जिनियरिङ, प्राविधिक तथा रसद समर्थन सेवाको अनुरोध गरेको थियो । सम्झौतामा प्राविधिक तथ्याङ्क, प्रकाशन, सैन्य तालिम तथा अन्य कार्यक्रम समर्थन पनि समावेश रहनेछ ।

एम७७७एटू हाउविट्जरका लागि स्पेयर पार्ट्स, मर्मत, तालिम, प्राविधिक सहयोग, फिल्ड सेवा प्रतिनिधि तथा रसद समर्थन सेवा उपलब्ध गराइनेछ । यो सम्भावित रक्षा सम्झौता अमेरिकी विदेशी सैन्य बिक्री (एफएमएस) च्यानलअन्तर्गत सञ्चालन गरिनेछ । अमेरिकी विदेश मन्त्रालयले यस सम्झौताले भारत–अमेरिका रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने जनाएको छ ।

यो सम्झौताले वर्तमान तथा भविष्यका सुरक्षा चुनौती सामना गर्ने भारतको क्षमता बढाउने अपेक्षा गरिएको छ । यसले भारतको घरेलु सुरक्षालाई मजबुत बनाउनुका साथै क्षेत्रीय खतरालाई नियन्त्रण गर्न पनि सहयोग पुग्ने बताइएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार भारतले यी सेवा तथा उपकरणलाई आफ्नो सेनामा सहज रूपमा एकीकृत गर्न सक्नेछ । साथै, यस रक्षा सम्झौताले क्षेत्रीय सैन्य सन्तुलनमा कुनै ठूलो प्रभाव नपार्ने दाबी पनि गरिएको छ । अमेरिकाले भारतलाई हिन्द–प्रशान्त तथा दक्षिण एसियामा राजनीतिक स्थिरता, शान्ति र आर्थिक प्रगतिका लागि महत्वपूर्ण साझेदारका रूपमा वर्णन गरेको छ ।