नाइजेरियाको दक्षिण पश्चिमी ओयो राज्यमा सशस्त्र समूहले विद्यालयहरूमा आक्रमण गरी ३९ जना विद्यार्थी र ७ जना शिक्षकलाई अपहरण गरेको छ ।
अधिकारीहरूका अनुसार घटना गत शुक्रबार अहोरो एसिनेले क्षेत्रमा भएको हो । आक्रमणकारीहरूले एउटा माध्यमिक विद्यालय र दुई प्राथमिक विद्यालयलाई निशाना बनाएका थिए ।
नाइजेरियाको क्रिश्चियन एसोसिएसनका ओयो राज्य अध्यक्ष एलिशा ओलुकायोडे ओगुन्डियाले कुल ४६ जनालाई अपहरण गरिएको बताए।अपहरणमा परेकामध्ये अधिकांश दुईदेखि १६ वर्ष उमेर समूहका बालबालिका छन् । प्रहरीले यसलाई समन्वित आक्रमण भनेको छ । सशस्त्र व्यक्तिहरूले एकै समयमा ब्याप्टिस्ट नर्सरी र प्राइमरीसहित अन्य दुई विद्यालयमा धावा बोलेका थिए । अध्यक्ष बोला टिनुबुले घटनाको निन्दा गर्दै यसलाई बर्बर आक्रमण भनेका छन्। उनले सङ्घीय सरकार र ओयो राज्य प्रशासन मिलेर अपहरित सबैलाई सुरक्षित उद्धार गर्ने प्रयास भइरहेको बताए । राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उनले भने, ‘हामी चाँडै सकारात्मक प्रगतिको अपेक्षा गरिरहेका छौँ।’
यसैबिच अपहरणमा परेका एक शिक्षकको आइतबार हत्या गरिएको राज्यक गभर्नर ओलुसेई अबियोडुन माकिन्डेले बताए । उनका अनुसार घटनासँग सम्बन्धित छ जना सन्दिग्ध पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा अपहरणकारीलाई सूचना तथा रसद उपलब्ध गराउने व्यक्तिहरू पनि रहेका छन् । उद्धार अभियानमा सेना, प्रहरी र स्थानीय सुरक्षा समूह सहभागी भएका थिए। तर अपहरणकारीहरूले बाटोमा राखेका विस्फोटक पदार्थका कारण उद्धार टोलीमाथि आक्रमण हुँदा केही सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको राज्य सरकारले जनाएको छ।