चीन–रुस सम्बन्ध विश्वका लागि स्थिरता दिने शक्ति बनेको छ – पुटिन

आप्रवासन आप्रवासन

 

 रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनको सम्बन्ध विश्व राजनीतिमा स्थिरता कायम गर्ने शक्ति बनेको बताएका छन् ।

चीन भ्रमणअघि दिएको सम्बोधनमा पुटिनले रुस र चीनबिच कुनै अन्य देशविरुद्ध गठबन्धन बनाउन नभई विश्व शान्ति र साझा समृद्धिका लागि सहकार्य गरिरहेको दाबी गरेका हुन् । दुईदिने चीन भ्रमणका क्रममा पुटिनले सी चिनफिङसँग बुधबार वार्ता गर्ने कार्यक्रम छ । 

'मस्को र बेइजिङ अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको बडापत्रको रक्षा गर्न सहकार्य गरिरहेका छन्,' पुटिनले आफ्नो सम्बोधनमा भने । रुस र चीनले संयुक्त राष्ट्र संघ, सांघाई सहयोग संगठन, ब्रिक्सलगायत बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै विश्व तथा क्षेत्रीय समस्याको समाधानमा योगदान गरिरहेको पनि उनले बताए । पुटिनका अनुसार मस्को–बेइजिङ सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको छ । दुवै देशले सार्वभौमिकता र राष्ट्रिय एकताको संरक्षणजस्ता आधारभूत विषयमा एकअर्कालाई समर्थन गरिरहेका छन् । 

पुटिनले राजनीति, अर्थतन्त्र, रक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धमा सहकार्य तीव्र रूपमा विस्तार भइरहेको पनि उल्लेख गरे । यो भ्रमण रुस–चीन सद्भाव र मैत्री सहकार्य सन्धिको २५औँ वार्षिकोत्सवको अवसरमा हुन लागेको हो । विश्लेषकहरूका अनुसार रुस र चीन पछिल्लो समय विश्व राजनीतिमा अमेरिकाको प्रभावलाई चुनौती दिने विषयमा झन नजिकिँदै गएका छन् । पुटिनको चीन भ्रमण केही दिनअघि मात्र चिनफिङ र डोनाल्ड ट्रम्पबिच बेइजिङमा सम्पन्न दुई दिने शिखर वार्तापछि हुन लागेको हो ।