चीनको दक्षिणी र मध्य भागमा परेको भीषण वर्षा र त्यसले निम्त्याएको बाढी तथा पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ ।
चीनको मौसम विभागले मङ्गलबारसम्म भारी वर्षा र आँधीबेहरीको लागि “ओरेन्ज अलर्ट” कायम राखेको छ । विभागका अनुसार वर्षा प्रणाली अहिले आफ्नो सबैभन्दा शक्तिशाली र विनाशकारी चरणमा पुगेको छ, जसले हजार किलोमिटरभन्दा बढी क्षेत्रमा असर पारेको छ । बाढीको चपेटामा विशेषगरी हुबेई, हुनान, गुवाङ्सी, चोङकिन, गुइचाउ परेका छन् । चीनको राज्य बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले यी क्षेत्रहरूमा आपतकालीन प्रतिक्रिया स्तर चौथों लागू गरेको छ, जुन बाढी आपतकालीन अवस्थाको प्रारम्भिक राष्ट्रिय स्तर हो ।
सरकारी सञ्चारमाध्यम चाइना सेन्ट्रल टेलिभिजनका अनुसार १५ जना सवार पिकअप ट्रक बाढीले उर्लिएको नदीमा खस्दा गुवाङ्सीमा ६ जनाको मृत्यु भएको छ । हुबेईमा अचानक आएको बाढीले ३ जनाको ज्यान लिएको छ भने हुनानमा थप १ जनाको मृत्यु भएको छ । बाढीका कारण धेरै शहरहरूमा विद्यालय, व्यवसाय र यातायात सेवा बन्द गरिएको छ । हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
हुबेईमा मात्र ४८ घण्टामा ३३७ वटा नगररगाउँमा १०० मिमीभन्दा बढी वर्षा मापन गरिएको छ, जुन ऐतिहासिक रेकर्ड तोड्ने स्तर मानिएको छ । सोसियल मिडिया प्लेटफर्म दोउयिनमा शेयर गरिएका भिडियोहरूमा केही स्थानहरूमा सडक नै पानीले भरिएको, कारहरू डुबेको र मानिसहरू पानीमा हिँडिरहेको दृश्य देखिएको छ । मौसमविद्हरूका अनुसार बङ्गालको खाडी, दक्षिण चीन सागर र प्रशान्त महासागरबाट आएको आद्र्रता एकैसाथ मिसिँदा यो ठूलो वर्षा प्रणाली बनेको हो । राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार आगामी दुई दिनमा वर्षा पूर्व र दक्षिणतर्फ सर्नेछ र याङ्त्जे नदी आसपास अझै भारी वर्षा हुने अनुमान गरिएको छ।