दक्षिण कोरियाली बहुराष्ट्रिय विद्युतीय सामाग्री निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूले घोषणा गरेको सम्भावित हडताल स्थगित भएको छ । यसले विश्वव्यापी प्रविधि उद्योगलाई तत्कालका लागि राहत दिएको छ । अन्तिम समयमा भएको अस्थायी तलब सम्झौतापछि हडताल रोकिएको हो । सामसङ विश्वकै सबैभन्दा ठुलो मेमोरी चिप उत्पादक कम्पनी हो । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी प्रविधिमा यसको महत्त्वपूर्ण भूमिका छ ।
सामसङको सबैभन्दा ठुलो मजदुर सङ्गठनले बिहीबारदेखि सुरु हुने भनिएको औद्योगिक आन्दोलन अस्थायी रूपमा रोकिएको जनाएको छ । यस सङ्गठनमा कम्पनीका झन्डै ४८ हजार कामदार आबद्ध थिए । सङ्गठनका सदस्यहरूले मे २२ देखि २७ सम्म नयाँ तलब तथा बोनस सम्झौताबारे मतदान गर्नेछन् । मतदानको नतिजापछि मात्र अन्तिम निर्णय हुने बताइएको छ ।
विश्वभर अहिले एआई प्रविधिको तीव्र विस्तार भइरहेको छ। विशेषगरी एआई डाटा सेन्टर, क्लाउड कम्प्युटर, स्मार्टफोन, ल्यापटप तथा उच्च क्षमताका सर्भर निर्माणमा प्रयोग हुने मेमोरी चिपको माग अत्यधिक बढेको छ । सामसङ यिनै चिप उत्पादन गर्ने अग्रणी कम्पनी भएकाले कम्पनीमा हुने कुनै पनि उत्पादन अवरोधले विश्वव्यापी आपूर्ति प्रणालीमा असर पार्न सक्थ्यो । विशेषज्ञहरूका अनुसार यदि हडताल लामो समयसम्म चलेको भए एआई उद्योग, इलेक्ट्रोनिक्स उत्पादन तथा सेमिकन्डक्टर बजारमा ठुलो समस्या आउन सक्थ्यो । यसले चिपको अभाव, उत्पादन ढिलाइ तथा मूल्यवृद्धिसमेत निम्त्याउने सम्भावना थियो ।
विवाद मुख्य रूपमा बोनस वितरणलाई लिएर सुरु भएको हो । एआई मेमोरी चिपको बढ्दो मागका कारण स्यामसङको नाफा उल्लेखनीय रूपमा बढेको छ । कम्पनीले मेमोरी चिप उत्पादनमा काम गर्ने करिब २७ हजार कर्मचारीलाई उच्च बोनस दिने योजना बनाएको थियो । रिपोर्टअनुसार कम्पनीले ती कर्मचारीलाई वार्षिक तलबको ६०७ प्रतिशतसम्म बोनस दिने प्रस्ताव गरेको थियो ।
तर अन्य विभाग—विशेषगरी कम उन्नत चिप तथा इलेक्ट्रोनिक्स उत्पादन गर्ने कर्मचारीहरूलाई भने ५० देखि १०० प्रतिशतसम्म मात्र बोनस दिने योजना बनाइएको थियो । यसमा मजदुर सङ्गठनले आपत्ति जनायो । टेस्ला र एनभिडिया जस्ता कम्पनीका लागि कम उन्नत चिप बनाउने हजारौँ कर्मचारीलाई विभेद गर्न नहुने तर्क संगठनको थियो । एआई प्रविधिको सफलतामा कम्पनीका सबै विभागका कर्मचारीको योगदान हुने भएकाले बोनस वितरण पनि समान र न्यायपूर्ण हुनुपर्नेमा संगठन अडिग थियो ।