सर्वाेच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा र 'कक्रोच'बारे दिएको बयानपछि भारतमा ‘कक्रोच जनता पार्टी’ अभियान सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
कक्रोच जनता पार्टीको इन्स्टाग्राम ह्यान्डलमा अचानक फलोअर्सको संख्या बढिरहेको छ । चार दिनभित्र यसको इन्स्टाग्राम ह्यान्डलमा फलोअर्सको संख्या १ करोड १८ लाख नाघेको छ । अनलाइनमा यसको नाममा एउटा वेबसाइट सिर्जना गरिएको छ । ट्विटरमा पनि यसका फलोअर्स टन्नै छन् । वेबसाइटमा २ लाखभन्दा बढी मानिसहरूले सदस्यताका लागि दर्ता गरेको रिपोर्ट गरिएको छ ।
सामाजिक सञ्जालमा यस्तो खालको अभियान चलाउने विचार कहाँबाट आयो ? बीबीसीले यस पार्टीका क्रियटर अभिजीत दीपकेलाई प्रश्न सोधेको थियो । ‘मैले ट्विटरमा (अहिले एक्स)मा प्रधानन्यायाधीश (भारतका प्रधानन्यायाधीश)को एक बयान हेरिरहेको थिएँ, जहाँ उनले देशका युवाहरूलाई प्रणालीको आलोचना गर्ने र आफ्नो विचार व्यक्त गर्ने साङ्ला र परजीवीहरूसँग तुलना गरेका थिए ।’
दीपकेले सामाजिक सञ्जाल एक्समा ‘सबै कक्रोचहरू एकजुट भए भने के हुन्छ ?’ भनी एउटा पोस्ट गरे । यही वाक्यले केही घण्टाभित्रै विशाल डिजिटल आन्दोलनको रूप लियो । दिल्ली उच्च अदालतमा वरिष्ठ वकिल नियुक्तिसम्बन्धी मुद्दाको बहसका क्रममा सूर्यकान्तले ‘रोजगार नपाएका र पेसामा स्थान नभएका कक्रोचजस्ता युवाहरू’ सामाजिक सञ्जाल र विभिन्न गतिविधिमार्फत प्रणालीमाथि आक्रमण गरिरहेका छन भन्ने आशय व्यक्त गरेको बताइएको थियो ।
सूर्यकान्तको टिप्पणी सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया सुरु भयो । विशेषगरी बेरोजगारी, परीक्षा घोटाला र आर्थिक संकटसँग संघर्ष गरिरहेका भारतीय युवाले उक्त अभिव्यक्तिलाई आफूहरूमाथिको अपमानका रूपमा लिए । विवाद बढ्दै गएपछि प्रधानन्यायाधीश सूर्यकान्तले आफ्नो भनाइलाई गलत रूपमा प्रस्तुत गरिएको दाबी गर्दै स्पष्टीकरण दिनुपर्यो । आफ्नो टिप्पणी सम्पूर्ण भारतीय युवाप्रति नभई नक्कली डिग्री लिएर कानुनी क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरूप्रति लक्षित भएको उनले पछि स्पष्टीकरण दिनुपरेको थियो । भारतीय युवालाई ‘विकसित भारतका आधारस्तम्भ’ भन्दै उनी अभिव्यक्ति सच्याउन बाध्यसमेत भएका थिए ।