भारतमा कक्रोच जनता पार्टीको उदयलाई नेपालको जेनजी आन्दोलनसँग जोडेर चर्चा

आप्रवासन आप्रवासन

 

भारतको डिजिटल राजनीतिक परिदृश्य वा सामाजिक सञ्जालमा पछिल्लो केही दिनयता तहल्का मच्चाइरहेको नाम हो– कक्रोच जनता पार्टी (सीजेपी) । 

आजको मिति (मे २१) मा यसको इन्टाग्राम एकाउन्टले एक करोडभन्दा बढी फलोअर कमाउँदै भारतीय जनता पार्टी (भाजपा)को इन्टाग्रामलाई उछिनिसकेको छ । जुन केवल ५ दिनमा प्राप्त फलोअर भएको बताइएको छ ।  नाम सुन्दै अचम्म लाग्ने यो अभियान वास्तवमा सामाजिक सञ्जालमा जन्मिएको एउटा राजनीतिक–सांस्कृतिक आन्दोलन हो । जसले भारतका बेरोजगार, निराश र सिस्टमबाट उपेक्षित युवाको भावनालाई मीम, व्यङ्ग्य र डिजिटल प्रतिरोधमार्फत अभिव्यक्त गरिरहेको छ । यसलाई कतिपयले ‘केबल व्यङ्ग्य मात्रै हो’ पनि भनिरहेका छन् ।

भारतमा ‘कक्रोच जनता पार्टी’को उदयः डिजिटल विद्रोहमार्फत पोखिएको युवा आक्रोश

हुन पनि यो निर्वाचन आयोगमा दर्ता भएको औपचारिक राजनीतिक दल पनि होइन । तर केही दिनमै लाखौं फलोअर, करोडौँ भ्यु र राष्ट्रियस्तरको बहस सिर्जना गर्न सफल भएको कारण यसलाई केवल एक व्यङ्ग्य वा मजाक भनेर पन्छिन पनि सकिन्न । सामाजिक सञ्जालको युगमा राजनीतिक आन्दोलन कसरी जन्मिन्छ, फैलिन्छ र जनमानसमा प्रभाव पार्छ भन्ने कुराको नयाँ उदाहरण बनेको छ, सीजेपी ।

  • कक्रोच शब्दबाट सुरु भएको विद्रोह

यस आन्दोलनको जड एउटा विवादास्पद अभिव्यक्तिसँग जोडिएको छ । भारतका प्रधानन्यायाधीश सूर्य कान्तले बेरोजगार युवाहरूलाई कक्रोच जस्तो भनेर टिप्पणी गरेको आरोपपछि सामाजिक सञ्जालमा एउटा आक्रोश फैलियो । त्यसैको प्रतिकारस्वरूप हामी पनि कक्रोंज हौँ भन्ने शैलीमा यो डिजिटल अभियान सुरु भयो । सामान्यतया कक्रोच शब्द घृणा, फोहोर वा तुच्छताको प्रतीकका रूपमा प्रयोग गरिन्छ । तर सिजेपीले यही अपमानजनक शब्दलाई प्रतिरोधको प्रतीक बनायो । उनीहरूको सन्देश थियो, ‘हामीलाई दबाउन सकिँदैन, किनकि कक्रोच जस्तै हामी जिउँछौँ, टिक्छौँ र लड्छौँ ।’

अन्ततः यस ‘मोटो’ले विशेषगरी बेरोजगारी, प्रतियोगी परीक्षामा धाँधली, महँगी, मानसिक तनाव र राजनीतिक निराशाबाट गुज्रिरहेका भारतीय युवालाई भावनात्मक रूपमा जोड्न सफल भयो । यो अभियानका संस्थापकका रूपमा अभिजित दीपके को नाम अगाडि आएको छ । विभिन्न रिपोर्टअनुसार उनी महाराष्ट्रको छत्रपति सम्भाजीनगर क्षेत्रका हुन् र डिजिटल पब्लिक रिलेसन तथा सामाजिक सञ्जाल अभियानमा काम गरिसकेका व्यक्ति हुन् । 

एक करोडभन्दा धेरै भए 'कक्रोच जनता पार्टी'का फलोअर्स

उनको विगत भारतको अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीसँग जोडिएको छ । केही समाचार (द इकोनोमिक टाइम्स लगायत)ले उनी पहिले आपका सामाजिक सञ्जाल स्वयंसेवक रहेको उल्लेख गरेका छन् । यसै कारण धेरैले सिजेपी लाई स्वतन्त्र जनआन्दोलनभन्दा पनि रणनीतिक डिजिटल अभियानको रूपमा पनि लिएका छन् ।  आलोचकहरूले यसलाई राजनीतिक ब्रान्डिङ र इन्फ्लुएन्सर मार्केटिङको नयाँ रूप भनेका छन् । तर समर्थकहरूका लागि भने यो मुख्यधारको राजनीतिविरुद्ध युवाको रचनात्मक प्रतिरोध हो ।

  • सामाजिक सञ्जालमा विस्फोट

सीजेपीको सबैभन्दा ठुलो शक्ति यसको डिजिटल प्रस्तुति हो । इन्टाग्राम, एक्स (ट्विटर), रेडिट, युट्युब र मीम पेजहरूमा यसको सामग्री भाइरल भयो । केवल पाँच दिनमै यसले करोडौँ फलोअर पुर्‍यायो । यसका पोस्टहरू पारम्परिक राजनीतिक भाषणभन्दा फरक छन् । यहाँ घोषणापत्रभन्दा मीम बढी छन् र नाराभन्दा व्यङ्ग्य बढी छन् । ‘लेजी एण्ड अनइम्लाइमेन्ट अर्थात् अल्छी र बेरोजगारको आवाज भनेर आफूलाई चिनाउने यो अभियानले युवाको डिजिटल हास्य संस्कृतिलाई राजनीतिसँग जोड्यो ।

अहिले रेडिट जस्ता प्लेटफर्ममा युवाहरूले ‘एडजस्ट करलेगें’, ‘चाय एण्ड डिलुजन’ जस्ता मीम प्रयोग गर्दै आफ्नो आर्थिक र मानसिक संघर्षलाई हास्यको रूपमा बदलिरहेका छन् ।  यस डिजिटल हास्यरसले एउटा गम्भीर तथ्य उजागर गरेको छ । त्यो के हो भने आजको युवा प्रत्यक्ष राजनीतिक भाषणभन्दा व्यङ्ग्य, रील, मीम र डिजिटल सामूहिकताबाट बढी प्रभावित हुन्छ । यसैमा बढी आत्मीयता पाउँछ ।

  • आन्दोलन कि मार्केटिङ ?

सीजेपीको लोकप्रियतासँगै शंका पनि बढ्यो । यसको चर्चा नेपालको जेनजी आन्दोलनलाई समेत जोडेर गरिएको छ । 

कतिपय प्रयोगकर्ताले यो स्वतःस्फूर्त जनआन्दोलन नभई योजनाबद्ध डिजिटल क्याम्पेन हुनसक्ने बताएका छन् । केही रेडिट प्रयोगकर्ताले यसको तीव्र वृद्धि अत्यन्तै अस्वाभाविक देखिएको टिप्पणी गरेका छन् । गुलाम जिलामीले मिन्टमा एक रिपोर्ट लेखेका छन् । जसको शीर्षक छ, ‘के कक्रोच जनता पार्टीले नेपालमा झैँ जेनजी विद्रोह निम्त्याउला त ?’ त्यसो त अभिजित दिप्केले भने भारतीय युवा जिम्मेवार र परिपक्व भएकोले त्यसो हुन सक्दैन भन्दै बचाउ गरेका छन् । यहाँ स्मरणीय कुरा के भने भने नेपालमा युवाहरूले सामाजिक सञ्जाल प्लेटफर्मबाटै जेनजी विद्रोह सम्पन्न गरेका थिए । 

त्यसो त अघिल्लो हप्तामात्र आम आदमी पार्टीका अरविन्द केजरीवालले भनेका थिए,'यदि नेपाल र बंगलादेशका जेनजीहरु सडकमा निस्किएर सरकार बदल्न सक्छन् भने के हाम्रा जेनजीले पेेपरलिकमा मुछिएका मन्त्रीहरुलाई जेल पठाउन सक्दैनन् ? मलाई हाम्रा जेनजीहरुमाथि पूर्ण भरोसा छ ।'  यस्तै अभिव्यक्तिका कारण पनि भारतीय सत्ता पक्ष अहिलेको डिजिटल कक्रोच पार्टीको बढ्दो लोकप्रियतासँग झस्किएको छ । यही झस्काइका कारण हुनसक्छ-इन्स्टाग्राममा भाजपालाई उछिनेको केही घण्टामै 'कक्रोच जनता पार्टी' को एक्स अकाउन्ट निलम्बित भएको अवस्था छ । 

इन्स्टाग्राममा भाजपालाई उछिनेको केही घण्टामै 'कक्रोच जनता पार्टी' को एक्स अकाउन्ट निलम्बित

त्यसो त भारतमा सामाजिक सञ्जालमार्फत राजनीतिक धारणा निर्माण नयाँ कुरा होइन । अघिल्ला चुनावहरूमा ह्वाट्स एप, ट्विटर ट्रेन्ड र पार्टी–आधारित डिजिटल नेटवर्कहरूले जनमत निर्माणमा ठुलो भूमिका खेलेको विभिन्न अध्ययनले देखाएका छन् । यसैले धेरै विश्लेषकहरूले प्रश्न उठाएका छन्— सीजेपी वास्तवमै युवाको स्वतन्त्र आवाज हो कि अर्को राजनीतिक शक्ति–संघर्षको डिजिटल उपकरण ?

तर अर्को पक्षले भन्छ, चाहे यसको पृष्ठभूमि जे भए पनि यसले युवाको वास्तविक पीडा बोलिरहेको छ । बेरोजगारी, परीक्षा प्रणाली, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक प्रतिनिधित्वजस्ता मुद्दालाई यसले जनबहसको केन्द्रमा ल्याएको छ ।

  • मीम राजनीतिको नयाँ युग

सीजेपीको उदयले भारतमा ‘मिम पोलिटिक्स’ अर्थात् मीम–आधारित राजनीतिक संस्कृतिको विस्तारलाई देखाउँछ । अब आन्दोलन सडकमा मात्र हुँदैन । इन्टाग्राम, एक्स (ट्विटर), रेडिट, ह्यासट्याग र मीम पेजहरूपनि राजनीतिक रणभूमि बनिसकेका छन् । यो आन्दोलनले देखाएको अर्को महत्त्वपूर्ण कुरा के हो भने आजको युवा परम्परागत राजनीतिक दलसँग भावनात्मक रूपमा जोडिन छोड्दैछ । उनीहरू विचारधाराभन्दा अनुभव, व्यङ्ग्य र डिजिटल सहभागितामा बढी विश्वास गर्न थालेका छन् । यसैले सिजेपीलाई केवल कक्रोच नामको इन्टरनेट ट्रेन्ड भनेर बुझ्नु पर्याप्त हुँदैन । यो वास्तवमा भारतीय युवाको निराशा, डिजिटल संस्कार र राजनीतिक अविश्वासको मिश्रण हो ।

  • प्रतिद्वन्द्वी इन्डियन नेसलन कक्रोच

रोचक कुरा के छ भने सिजेपीको लोकप्रियतासँगै यसको प्रतिद्वन्द्वी समेत जन्मिएको छ । त्यसको नाम हो– इन्डियन नेसलन कक्रोच । केही इन्फ्लुएन्सरहरूले व्यङ्ग्यात्मक रूपमा अर्को ‘पार्टी’ समेत सुरु गरिसकेका हुन् । यसले देखाउँछ कि आन्दोलन अब केवल एउटा पेज वा व्यक्तिमा सीमित छैन । यो इन्टरनेट संस्कृतिको सामूहिक खेलमा रूपान्तरण हुँदैछ, जहाँ राजनीति, हास्य, ब्रान्डिङ र प्रतिरोध सब एकसाथ मिसिन्छन् । जे होस्, आधुनिक भारतको डिजिटल राजनीतिक संस्कृतिको प्रतीक बनेको छ । यसले सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम नभई असन्तोष, प्रतिरोध र वैकल्पिक राजनीतिक अभिव्यक्तिको शक्तिशाली प्लेटफर्म पनि भएको देखाएको छ । 

यद्यपि यसको भविष्य अनिश्चित छ । यो केही सातापछि हराउने भाइरल ट्रेन्ड पनि हुन सक्छ वा दीर्घकालीन डिजिटल राजनीतिक चेतनाको सुरुवात पनि हुन सक्छ । तर एउटा कुरा स्पष्ट छ, भारतको युवा पुस्ता अब पुरानो शैलीको राजनीति मात्र सुन्न तयार छैन । उनीहरू आफ्नै भाषा, आफ्नै हास्य र आफ्नै डिजिटल संस्कृतिमार्फत बोल्न चाहन्छन् । शायद यही कारणले कक्रोच जस्तो अपमानजनक शब्द पनि आज प्रतिरोधको प्रतीक बन्न पुगेको छ । यो साँच्चै प्रतिरोध बन्नेछ कि केवल एक ठट्टा यसको छिनोफानो भोलिका दिनले बताउनेछ ।