अन्तर्राष्ट्रिय अदालतको जलवायुसम्बन्धी निर्णय संयुक्त राष्ट्रसंघद्वारा पारित

आप्रवासन आप्रवासन

facebook sharing buttontwitter sharing button

अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले जलवायु परिवर्तनलाई ‘अस्तित्वमाथिको खतरा’ भनेको निष्कर्षलाई समर्थन गर्दै १४१ संयुक्त राष्ट्र सदस्य राष्ट्रहरूले मतदान गरेका छन् । 

संयुक्त राष्ट्र महासभा (युएनजिए) ले जलवायु संकटलाई अझ खराब हुनबाट रोक्नका लागि राज्यहरूको कानुनी दायित्व रहेको भनी आईसीजेद्वारा गरिएको ऐतिहासिक निर्णयलाई समर्थन गर्ने प्रस्ताव पारित गरेको हो ।  बुधबार भएको मतदानमा संयुक्त राष्ट्रका दुई तिहाइभन्दा बढी सदस्य राष्ट्र (१४१ देश)ले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने आठ देशले विपक्षमा । अन्य २८ देश तटस्थ बसेका थिए ।

भानुआटुका जलवायु परिवर्तन मन्त्री राल्फ रेजेनभानुले यस मुद्दामा अग्रसरता लिएका थिए । उनले यस मतदानलाई ‘जलवायु संकटको अग्रपंक्तिमा रहेका समुदायहरूको विजय’ भनेका छन् । ‘आज अन्तर्राष्ट्रिय समुदायले जलवायु परिवर्तन केवल राजनीतिक र आर्थिक चुनौती मात्र होइन, यो कानुन, न्याय र मानव अधिकारको विषय पनि हो भन्ने कुरा पुष्टि गरेको छ,’ रेजेनभानुले विज्ञप्ति मार्फत भनेका छन् ।

‘भानुआटु जस्ता कमजोर देशहरूका लागि यो प्रस्ताव अत्यन्त महत्वपूर्ण छ, किनकि यसले कुनै पनि राज्य आफ्नो जनताको संरक्षण, भविष्यका पुस्ता र हाम्रो ग्रहप्रतिको दायित्वभन्दा माथि छैन भन्ने कुरा पुष्टि गर्छ ।’ विज्ञप्तिमा भनिएको छ । गत वर्ष जुलाईमा हेगस्थित उच्च अदालतले गरेको ऐतिहासिक निर्णयमा जलवायु परिवर्तनलाई ‘अस्तित्वमाथिको खतरा’ भन्दै यसलाई रोक्न राज्यहरूको कानुनी दायित्व रहेको निष्कर्ष निकालेको थियो ।

यो मुद्दा आईसीजे का १५ न्यायाधीशहरूले हेरेको अहिलेसम्मकै सबैभन्दा ठूलो मुद्दा थियो । यसमा मुद्दामा दशौं हजार पृष्ठका लिखित कागजातहरू अध्ययन गरिएको थियो भने दुई हप्तासम्म मौखिक बहसहरू सुनेपछि निर्णय सुनाइएको थियो । यो मुद्दा सन् २०२३ मार्चमा भानुआटु नेतृत्वको प्रस्ताव सर्वसम्मतिले पारित भएपछि संयुक्त राष्ट्र महासभाको अनुरोधमा अदालतमा पुगेको थियो ।

तर बुधबारको मतदानमा केही विरोध पनि देखियो, जहाँ बेलारुस, इरान, इजरायल, लाइबेरिया, रुस, साउदी अरब, संयुक्त राज्य अमेरिका र यमनले विपक्षमा मतदान गरे । ‘हामी भानुआटुलाई तुरुन्तै आफ्नो प्रस्ताव फिर्ता लिन र अन्तर्राष्ट्रिय कानुनी दायित्वका गलत दाबीहरू अघि बढाउने प्रयास रोक्न आग्रह गर्छौं,’ एक कूटनीतिक पत्रमा भनिएको थियो ।

‘यो ऐतिहासिक प्रस्ताव भानुआटु र प्रशान्त क्षेत्रका ती नेताहरूका लागि ठूलो विजय हो, जसले दशकौँदेखि जलवायु संकटको अग्रपंक्तिमा रहेर अस्तित्वका लागि संघर्ष गर्दै आएका छन्, र यो अस्ट्रेलियाली सरकारहरूका लागि चेतावनी पनि हो,’ अस्ट्रेलियाको गैर–नाफामूलक संस्था क्लाइमेट काउन्सिलका फेलो वेस्ली मोर्गनले भनेका छन् । ‘धेरै लामो समयदेखि जीवाश्म इन्धनमा निर्भर शक्तिहरूले जलवायु कार्यलाई राजनीतिक छनोटका रूपमा हेर्दै आएका थिए, तर अब संयुक्त राष्ट्र महासभाले यसलाई बाध्यकारी कानुनी दायित्व भएको पुष्टि गरेको छ,’ उनले थपे ।