आकर्षक तलबको प्रलोभन देखाएर टर्की र युरोप पठाउने भन्दै झण्डै एक करोड ठगी गर्ने ४ जना पक्राउ

आप्रवासन आप्रवासन

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै बेरोजगार युवायुवतीबाट झण्डै एक करोड रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभन देखाएर टर्की, साइप्रस र लिथुआनिया पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूले युवायुवतीलाई विदेश पठाउने भन्दै लामो समयसम्म झुलाएर राख्ने र पछि रकम कुम्ल्याएर सम्पर्कविहीन हुने गरेका थिए। पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट जेठ ५ र ६ गते पक्राउ गरिएको हो।

यस्तो छ पक्राउ परेका व्यक्ति र ठगीको विवरण:

१. टर्की पठाइदिने भन्दै ८६ लाखभन्दा बढी ठगी: टर्की पठाइदिने भन्दै ८ जना व्यक्तिबाट रु. ८६ लाख २२ हजार ५ सय ७० रुपैयाँ ठगी गरेको आरोपमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-२६ बस्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३० वर्षीय दिपेश गुरुङ र २४ वर्षीय सौगात गुरुङ रहेका छन्। उनीहरूलाई जेठ ५ गते काठमाडौं-२६ बाटै नियन्त्रणमा लिइएको हो।

२. साइप्रसको प्रलोभनमा साढे ९ लाख ठगी: त्यसैगरी, युरोपेली मुलुक साइप्रस पठाइदिने भन्दै १ जना व्यक्तिबाट रु. ९ लाख ५० हजार ठगी गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिका-१० स्थायी घर भएका ४८ वर्षीय सुर्य प्रकाश खेजुम पक्राउ परेका छन्। हाल ललितपुरको गोदावरी नगरपालिका-२२ बस्दै आएका उनलाई जेठ ५ गते गोदावरीबाटै प्रहरीले पक्राउ गरेको हो।

३. लिथुआनिया पठाउने भन्दै झण्डै २ लाख ठगी: युरोपकै अर्को देश लिथुआनिया पठाइदिने भन्दै १ जनाबाट रु. १ लाख ९३ हजार ठगी गर्ने काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-५ स्थायी घर भएकी ३३ वर्षीया शान्ती श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-३ बस्ने उनलाई जेठ ६ गते काठमाडौं महानगरपालिका-३० बाट पक्राउ गरिएको हो।

थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइयो

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले अपरिचित व्यक्ति वा आधिकारिक दर्ता नभएका संस्थालाई रकम नबुझाउन र सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।

fd39281d-eb57-485f-8b1a-4d0a3e6d3398