ट्रम्प र नेतन्याहुबिच तनावपूर्ण फोन वार्ता, इरान युद्धको भविष्यबारे मतभेद

आप्रवासन आप्रवासन

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुबिच इरानसँगको सम्भावित युद्ध र त्यसको आगामी रणनीतिबारे गम्भीर मतभेद देखिएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार मंगलबार भएको दुवै नेतबिचको फोन वार्ता तनावपूर्ण बनेको थियो । अमेरिकी अधिकारीका अनुसार ट्रम्प र नेतन्याहुबिच पछिल्ला केही दिनमा पटक–पटक संवाद भएको छ । आइतबारको कुराकानीमा ट्रम्पले इरानविरुद्ध नयाँ लक्षित सैन्य आक्रमण अगाडि बढाउने सम्भावना रहेको जानकारी नेतन्याहुलाई दिएका थिए । उक्त सम्भावित सैन्य अभियानलाई 'अपरेशन स्लेजह्यामर' नाम दिने तयारीसमेत भएको बताइएको छ ।

तर त्यसको करिब २४ घण्टापछि ट्रम्पले अचानक योजनाबद्ध आक्रमण रोकिएको घोषणा गरे । कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकहरूको आग्रहमा आक्रमण स्थगित गरिएको उनले बताए । अमेरिकी अधिकारी तथा घटनाबारे जानकारी राख्ने स्रोतका अनुसार पछिल्ला दिनहरूमा खाडी राष्ट्रहरूले पाकिस्तानमार्फत ह्वाइट हाउससँग निरन्तर समन्वय गर्दै इरानसँग कूटनीतिक संवादको ढाँचा तयार गर्न प्रयास गरिरहेका छन् ।  'हामी इरानसँगको वार्ताको अन्तिम चरणमा छौँ । के हुन्छ, हेर्दैछौँ,' ट्रम्पले बुधबार पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए । 'हामीले कि त सम्झौता गर्ने छौं, होइन भने केही कडा कदम चाल्नुपर्ने हुन सक्छ । तर आशा छ त्यस्तो अवस्था आउने छैन,' अझ अगाडि उनले भनेका थिए ।

नेतन्याहुको असन्तुष्टि

यसबिच नेतन्याहु भने ट्रम्पको निर्णयबाट असन्तुष्ट देखिएका छन् । इजरायली स्रोतहरूका अनुसार नेतन्याहुले इरानमाथि दबाब कायम राख्न सैन्य कारबाही निरन्तर हुनुपर्ने धारणा राख्दै आएका छन् । मंगलबार भएको रिब एक घण्टा लामो फोन संवादमा नेतन्याहुले ट्रम्पलाई सैन्य कारबाही पुनः सुरु गर्न आग्रह गरेका थिए । उनका अनुसार आक्रमण स्थगित गर्नु रणनीतिक गल्ती हो र यसले इरानलाई समय दिने काम मात्र गर्छ । ट्रम्पले अझै सम्झौताको सम्भावना हेर्न चाहेको तर नेतन्याहुले फरक अपेक्षा गरेको एक इजरायली अधिकारीले सीएनएनलाई भनेका छन् । यस घटनाले अमेरिका र इजरायलबिच इरान नीतिमा बढ्दो दूरी देखिएको विश्लेषण गरिएको छ ।

पत्रकारहरूले नेतन्याहुसँगको संवादबारे प्रश्न गर्दा ट्रम्पले आफू नै निर्णयकर्ता भएको संकेत दिएका थिए । 'उहाँले मैले चाहेको कुरा नै गर्नुहुन्छ,' ट्रम्पले भने । नेतन्याहुले सैन्य कारबाही पुनः सुरु गर्न दबाब दिइरहेका भए पनि हालका लागि ट्रम्पले कूटनीतिक समाधानलाई प्राथमिकता दिइरहेका छन् । केही दिन थप वार्ताले युद्ध टार्न सकिन्छ भने त्यसलाई अवसर दिनुपर्ने ट्रम्पको धारणा छ । 

अमेरिकी प्रस्ताव अध्ययन गर्दैछ इरान

इरानले पनि अमेरिका र आफूबिच अझै सन्देश आदानप्रदान भइरहेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकायीका अनुसार पाकिस्तानमार्फत दुवै पक्षबिच संवाद जारी छ । 'इरानको प्रारम्भिक १४ बुँदे प्रस्तावका आधारमा धेरै पटक सन्देश आदानप्रदान भएको छ । अमेरिकी पक्षका धारणा प्राप्त भएका छन र हामी त्यसको समीक्षा गरिरहेका छौं,' उनले भने । इरानी समाचार संस्था आईएसएनएका अनुसार पाकिस्तानी सेना प्रमुख असिम मुनिर बिहीबार तेहरान भ्रमणमा जाने तयारीमा छन् । यस भ्रमणलाई अमेरिका–इरान तनाव कम गर्ने मध्यस्थता प्रयासको हिस्सा मानिएको छ । 

पाकिस्तानले पछिल्लो समय अमेरिका र इरानबिच संवाद गराउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । अप्रिलमा पाकिस्तानकै पहलमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफबिच उच्चस्तरीय वार्ता भएको थियो । तर अझै पनि दुवै पक्षबिचका मुख्य विवाद समाधान भएका छैनन् । विशेषगरी इरानको आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध तथा रोकिएका सम्पत्तिका विषयमा सहमति बन्न बाँकी रहेको क्षेत्रीय स्रोतहरूले बताएका छन् ।