मोडेलको मृत्युले ततायो भारत : पूर्वन्यायाधीशको परिवारमाथि दाइजो हत्याको गम्भीर आरोप

आप्रवासन आप्रवासन

 

भारतमा दाइजोका नाममा वर्सेनि हजारौँ महिलाहरूको हत्या हुने गरे पनि यस्ता घटनाले विरलै मात्र राष्ट्रिय सञ्चारमाध्यममा स्थान पाउँछन्। तर, गत मे १२ मा भोपाल सहरमा भएको ३३ वर्षीया मोडेल तथा अभिनेत्री ट्वीसा शर्माको मृत्युले भने यतिबेला भारतीय मिडियामा ठुलो हलचल पैदा गरेको छ। 

सन् २०१२ मा मिस पुणेको उपाधि जितेकी, विभिन्न विज्ञापन तथा तेलुगु चलचित्रमा अभिनय गरेकी ट्वीसा विवाहको पाँच महिनामै आफ्नै घरमा मृत फेला परेकी थिइन्। उनको विवाह सन् २०२५ को डिसेम्बरमा भोपालका वकिल सामर्थ सिंहसँग भएको थियो। ट्वीसाको परिवारले उनका श्रीमान् सामर्थ र सासू गिरीबाला सिंह, जो सेवानिवृत्त न्यायाधीश हुन्, माथि दाइजोका लागि यातना दिएको र हत्या गरेको गम्भीर आरोप लगाएका छन्। अर्कोतर्फ, पूर्वन्यायाधीश गिरीबाला सिंहले यी आरोपहरूलाई ‘निराधार’ भन्दै ट्वीसामा मानसिक स्वास्थ्य समस्या रहेको र उनले आत्महत्या गरेको दाबी गरेकी छन्। 

भोपाल प्रहरीका अधिकारी रजनीश कश्यप कौलका अनुसार सिंह परिवारविरुद्ध दाइजो हत्याको मुद्दा दर्ता गरी घटना हत्या वा आत्महत्या के हो भन्नेबारे अनुसन्धान भइरहेको छ। हाल फरार रहेका श्रीमान् सामर्थका नाममा लुकआउट नोटिस जारी गरिएको छ र अदालतले उनलाई मे २३ सम्ममा आत्मसमर्पण गर्न आदेश दिएको छ। अदालतले सासू गिरीबालालाई अग्रिम जमानत दिए पनि सामर्थको आवेदन खारेज गरिदिएको छ। ट्वीसा र सामर्थबिचको सम्बन्धमा खटपट सुरु भएपछि ट्वीसाले आफ्नो परिवारलाई पठाएका ह्वाट्सएप सन्देशहरू सार्वजनिक भएका छन्, जसमा उनले आफूमाथि चरम यातना भएको उल्लेख गर्दै भनेकी छन्, ‘मेरो जीवन नर्क बन्यो।’ ट्वीसाका पिता नवनिधि शर्माका अनुसार विवादको सबैभन्दा ठुलो कारण गत अप्रिलमा ट्वीसा गर्भवती भएपछि सुरु भएको थियो। 

सिंह परिवारले ट्वीसाको चरित्रमाथि औँला उठाउँदै गर्भमा रहेको बच्चा अर्कैको भएको आरोप लगाएका थिए र मे महिनाको पहिलो साता उनलाई जबरजस्ती गर्भपतन गराउन बाध्य पारेका थिए। पूर्वनायाधीश गिरीबालाले भने ट्वीसा आफैँले बच्चा जन्माउन नचाहेकाले गर्भपतन गराएको भन्दै बचाउ गरेकी छन्। मृत्यु भएको रात मे १२ मा ट्वीसाले राति ९:४१ बजे आफ्नी आमासँग ह्वाट्सएपमा कुरा गरिरहेकी थिइन्। कुराकानीकै क्रममा एक्कासि फोन काटिएको र त्यसको २० मिनेटपछि सासू गिरीबालाले फोन उठाएर ट्वीसा अब यस संसारमा नरहेको जानकारी दिएकी थिइन्। 

ट्वीसाको परिवारले घटनाको प्रकृति र प्रहरीको प्रारम्भिक अनुसन्धानप्रति गम्भीर आशंका व्यक्त गरेको छ। पहिलो पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण झुन्डिएर भएको देखिए पनि मृत्युअघि शरीरमा लागेका चोटहरू फेला परेका छन्। त्यसैले परिवारले शवको दोस्रो पटक पोस्टमार्टम गर्न माग गर्दै शवदाह गर्न अस्वीकार गरेको छ। अदालतले पुनः पोस्टमार्टमको माग अस्वीकार गरे पनि शवलाई सुरक्षित राख्न आदेश दिएको छ।

यस घटनाले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक रूप लिएको छ। इन्स्टाग्राममा ‘जस्टिस फर ट्वीसा शर्मा’ अभियान नै सुरु भएको छ। विशेष गरी न्यायको रक्षा गर्ने जिम्मेवारी पाएका शक्तिशाली न्यायिक क्षेत्रका व्यक्तिकै घरभित्र यस्तो घटना घटेकाले जनतामा आक्रोश बढेको हो। पूर्वन्यायाधीश गिरीबाला सिंहले पत्रकार सम्मेलन र अन्तर्वार्ताहरूमा ट्वीसाको मानसिक अवस्था र उनको ‘उदारवादी चरित्र’ माथि टिप्पणी गरेपछि उनको जमानत खारेज गरी पक्राउ गर्न माग भइरहेको छ।

भोपालका प्रहरी कमिश्नर सञ्जय कुमारले अनुसन्धानमा केही कमजोरी भएको स्वीकार गरे पनि पोस्टमार्टमका आधारमा यो आत्महत्या नै भएको बताएका छन्। तर, पीडित परिवारले प्रभावशाली व्यक्तिहरूले अनुसन्धानलाई मोड्न खोजेको आरोप लगाएपछि मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले यस घटनाको अनुसन्धान केन्द्रीय प्रहरीमार्फत गराउने आश्वासन दिएका छन्।  ट्वीसाका पिता नवनिधि शर्माले आफ्नी छोरीलाई न्याय नदिलाएसम्म लडाइँ जारी राख्ने दृढता व्यक्त गर्दै भनेका छन्, ‘मेरो छोरी जीवित हुँदा पनि अन्यायमा परी र अहिले मृत्युपछि पनि उनलाई न्याय पाउनबाट रोक्ने हरप्रकारको प्रयास भइरहेको छ। हामी न्याय नपाएसम्म शान्त बस्ने छैनौँ।’